२२ वैशाख २०८१, शनिवार

‘आधा घण्टा स्वास्थ्यमा ख्याल गर्नुहोस्, रोग लाग्दैन’

८ वैशाख २०८१, शनिवार
Image

मेचीनगर, ८ चैत । दैनिक आधा घण्टा मात्रै स्वास्थ्यमा ख्याल गरे जटिल रोग लाग्नबाट बँच्न सकिने डा. आकाश कोइरालाले बताउनु भएको छ ।

केशवराज भण्डारी (केआर) फाउन्डेसनले आज धुलाबारीमा आयोजना गरेको ‘जटिल रोग र सोको निदानका उपायहरु’ विषयक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी उपाधिप्राप्त फिजिसियन डा. कोइराला हाल विर्तासिटी हस्पिटलमा कार्यरत हुनुहुन्छ । 

उहाँले आफुकहाँ उपचारका लागि आउने बिरामीहरुमा डाइबिटिज र प्रेसरका बिरामी सर्वाधिक हुने गरेको जानकारी दिनुभयो । 

डाइबिटिजको उपचारमा बिलम्ब वा लापरवाही गरेमा स्ट्रोक प्यारालाइसिस, किड्नी रोग, मुटुरोग र आँखारोग निम्तिने उहाँले बताउनु भएको छ । कार्यक्रममा प्रोस्टेट, पायल्स, थाइराइड लगायतका रोगको निदान बारे उहाँले चर्चा गर्दै सहभागीहरुको जिज्ञासाको जवाफ दिनु भएको थियो । 

‘हरेक १० जनामध्ये ६ जनालाई डाइबिटिजको कारणले किड्नी बिग्रिएको पाइएको छ,’ उहाँले भन्नुभयो–‘बेलैमा उपचार गराएमा डाइबिटिजले निम्त्याएका रोगहरुको निदान गर्न सम्भव छ ।’

स्वस्थ रहनका लागि घर बाहिरका धेरै चीज नखान, दैनिक विहान हिँडडुल गर्न र पानी प्रशस्त पिउन उहाँले सल्लाह दिनु भएको छ । मानिसहरु मोवाइलको लतमा परेका कारण हिँडडुलमा जान नचाहने समस्याले स्वास्थ्यमा गम्भीर आघात परिरहेको उहाँको धारणा थियो । 

बिरामी भएर उपचार गराउनुभन्दा रोग लाग्नै नदिने उपाय खोज्नु बुद्धिमानी हुने उहाँको भनाई छ । औषधि बारे सामान्य ज्ञान नराख्ने र असल डाक्टरको खोजीमा भौतारिने समस्याले बिरामीलाई जटिल मोडतर्फ लगिरहेको हुनसक्ने उहाँको भनाई थियो ।

‘कुन डाक्टर गुड र कुन डाक्टर ब्याड भन्ने हुँदैन,’ डा. कोइरालाले भन्नुभयो–‘डाइबिटिजको कुरा गर्ने हो भने यसको दवाई अनुभवी फार्मेसीले पनि राम्रोसँग मिलाइदिन सक्छ । ठूलो डाक्टर नै खोजिरहनु पर्छ भन्ने छैन ।’

कार्यक्रमको सञ्चालन गोपाल बस्नेतले र स्वागत मन्तब्य काँकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ खतिवडाले गर्नु भएको थियो भने सभाको अध्यक्षता फाउन्डेसनकी अध्यक्ष सबिता भेटुवालले गर्नु भएको थियो ।

सहभागीहरुका तर्फबाट विपुल श्रेष्ठ, ज्ञानेन्द्र निरौला, डम्मरुबल्लभ पौडेल, अनिल भेटुवाल, पुष्पा भण्डारी, सरस्वती सिटौला लगायतले डा. कोइरालासमक्ष उपचार सम्बन्धी विभिन्न विषयमा जिज्ञासा राख्नु भएको थियो ।