२२ वैशाख २०८१, शनिवार

भारतीय नाका जोड्ने अमरपथ सडकमा धमाधम कालोपत्रे

९ वैशाख २०८१, आइतवार
Image

झापा, ९ बैशाख । कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ । 

‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त सडकको १५ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । 

पूर्वपश्चिम राजमार्गको सुरुङ्गा चोकदेखि डिगलबैंकसम्मको २४ किलोमिटर सडकमध्ये अब नौ किलोमिटर कालोपत्रे हुन बाँकी रहेको कार्यालयका इन्जिनियर कुलानन्द चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सो सडकको दुई खण्डमा निर्माण कार्य भइरहेको छ । मैनाचुली–रोशन जेभीले रु. ५७ करोड १८ लाखमा सडक निर्माणको ठेक्का लिएको छ । जसमध्ये सुरुंगा चोकदेखि झापा गाउँपालिकाको सीमानासम्म पहिलो खण्डको ८ किलोमिटर सडक कालोपत्रे गत मंसिरमै सम्पन्न भएको थियो ।

अमरपथ सडक खण्डको दोस्रो चरणको निर्माण कार्य तीब्र गतिमा भइरहेको उहाँले जानकारी दिनुभयो । झापा गाउँपालिकादेखि दक्षिणतर्फ सात किलोमिटर सडकको कालोपत्रे भइसकेकोे बताउनुभयो ।

इन्जिनियर चौधरीका अनुसार निर्माण कम्पनीले वि.सं. २०७६ मंसिर ३० गते चार बर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर कोभिड महामारी र सरकारले समयमा बजेट निकासी गर्न नसक्दा एक बर्षको म्याद थप गरी वि.सं. २०८१ मंसिर ३० गते निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । 

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुबर्षीय योजना अन्तरगत सो सडकको निर्माण भइरहेको छ । सडक निर्माणमा बजेट अभाव भएको कार्यालयले जनाएको छ । “सडक सम्पन्न गर्न अझै रु. १५ करोड रकम चाहिन्छ”, उहाँले भन्नुभयो, “तर कार्यालयसँग अब रु. १५ लाख जति मात्र बजेट बाँकी छ ।”

उहाँले मन्त्रालयले बजेटको सुनिश्चितता नगरी योजना कार्यान्वयन गर्दा तोकिएको मितिमा काम सक्न सकस हुने गरेको बताउनुभयो । उहाँका अनुसार थप बजेट निकास भएमा तोकिएकै मितिमा सडकको निर्माण सम्पन्न हुनेछ ।