२२ वैशाख २०८१, शनिवार

एशियन राजमार्ग ः रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु

९ वैशाख २०८१, आइतवार
Image

झापा, ९ वैशाख । पूर्वपश्चिम एशियन राजमार्ग (हाइवे)को रुख कटानसँगै पुल र कल्भर्ट निर्माण कार्य सुरु भएको छ ।

एसियाली विकास बैंक आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले काँकरभिट्टा–सितापुरी पूर्वी खण्डको ४५ किलोमिटर क्षेत्रमा सो काम भइरहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार हाल कमल र केर्खा खोलामा पुलको पायल फाउण्डेसन गर्ने, सडकको चौडाईका लागि माटो भर्ने र कल्र्भट बनाउने काम धमाधम भइरहेको छ । सडक किनारमा रहेका चार हजार ७३० रुख मध्ये तीन हजार ६०० रुख समेत कटान गरिसकिएको छ ।

दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्य अनुरुप निर्माण सुरु गरिएको एशियन राजमार्गको सो सडक खण्डमा १४० वटा कल्भर्ट र २१ वटा पुल निर्माण हुने   उहाँले जानकारी दिनुभयो । 

एशियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरी पूर्वी खण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उहाँका अनुसार पूर्वी खण्डको ठेक्का पाएको एभ्रासकन कालिका जेभीले रफ्तारमा काम गरिरहेको छ । 

“काम रफ्तारमा भइरहेको छ”, उहाँले भन्नुभयो, “रुख काट्ने कार्य अन्तिम चरणमा पुगिसक्यो । अब पुल र कल्र्भटको काम पनि द्रतगतिमा भइरहेको छ ।” एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब रु. १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको योजना प्रमुख पन्तले बताउनुभयो । 

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेको छ ।

फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने, पूर्वी नाकाबाट स्थल मार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने जनअपेक्षा रहेको छ । 

उहाँले एशियन हाइवेमा पर्ने ठूला साना नदीमा लगाइएका पुराना पुललाई यथावत राखेर त्यसैमा दुई लेनका पुल थप गरिने जानकारी दिनुभयो । तीन बर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको सडक अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ । 

काँकरभिट्टा–लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ ।