२४ वैशाख २०८१, सोमवार

झापा र इलामका सीमा नाका ७२ घण्टाका लागि बन्द

१२ वैशाख २०८१, बुधवार
Image

फोटो :देबेन्द्र खरेल

झापा, ११ बैशाख ।  झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टा लगायतका सीमा नाकाहरु आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । 

भारतमा यही बैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाकाहरु बन्द गरिएका हुन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ । 

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिनुभयो । आज साँझ ६ बजे बन्द भएका ती नाका बैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन् । 

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बंगालको दार्जीलिङ र विहारको किसनगञ्ज जिल्लामा यही बैशाख १४ गते एकैदिन हुँदैछ । भारतका दुबै जिल्ला झापासँग सीमा जोडिएका छन् ।

उक्त अवधिमा नाकाबाट अति जरुरी बाहेक सर्वसाधारण र सवारी साधनको आउजाउ पूर्णतया बन्द हुने प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताउनुभयो । उहाँले मतदान बाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिनुभयो । 

खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सीमा नाका बन्द गर्ने बिगतदेखिकै प्रचलन रहेको प्रजिअ बाँस्तोलाले बताउनुभयो । नेपालमा चुनाव हुँदा समेत भारतीय पक्षले उसको सीमा नाका बन्द गर्ने गरेको उहाँले बताउनुभयो । चुनाव लक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन् ।

भारतको दार्जीलिङ जिल्लासँग झापासँगै इलामको समेत सीमाले छोएको छ । उक्त अवधिमा इलामको पशुपतिनगर र मानेभञ्ज्याङ नाका बन्द गरिने बताइएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतको पश्चिम बंगालको दार्जीलिङ, रायगञ्ज र बलुरघाट निर्वाचन क्षेत्रमा बैशाख १४ गते मतदान हुनेछ । सोही दिन विहार प्रान्तको किसनगञ्ज, पूर्णिया, कटिहार, भागलपुर र बाङ्का निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।