२२ वैशाख २०८१, शनिवार

विश्वप्रकाशको दावी : ‘कांग्रेसले जित्छ, एमाले दोस्रो हुन्छ’

११ वैशाख २०८१, मङ्गलवार
Image

चुलाचुली, ११ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलामको उपनिर्वाचन नेपाली कांग्रेसले जित्ने र नेकपा एमाले दोस्रो हुने भविष्यवाणी गर्नु भएको छ । 

‘पार्टी पुरै एकढिक्का भएर उभिएको छ,’ उहाँले आज चुलाचुलीको आइतबारेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो–‘परिणाम कांग्रेसको पक्षमा आउँछ । वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ रुख चिह्नमय भएर ब्युँझने छ ।’

उहाँले इलाम–२ मा कांग्रेसका उम्मेद्वार डम्बर खड्काको प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ हुने दावी गर्नुभयो । उहाँले चुनावी प्रतिस्पर्धाको थप आँकलन सुनाउँदै पहिचानवादी उम्मेद्वार डेकेन्द्र थेगिम तेस्रो शक्ति मात्र बन्ने सम्भावना व्यक्त गर्नुभयो ।

इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट खड्का चुनावी मैदानमा उम्मेद्वार हुनुहुन्छ । बिगतको चुनावमा झिनो मतले पराजित खड्काले यसपालि बाजी मार्ने उहाँको जिकीर छ ।

पार्टीले चुनाव जित्ने आधारहरु सुनाउँदै कांग्रेस महामन्त्री शर्माले उम्मेद्वार खड्का बिकासप्रेमी भएको बताउनुभयो । खड्काले चुनाव जितेपछि इलामको विकासको फाइल बोक्न आफुले पनि सघाउने शर्माले बताउनुभयो ।

सम्बोधनका क्रममा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रबि लामिछानेको चर्को विरोध गर्नुभयो । उहाँले गृहमन्त्री लामिछाने सहकारी ठगीको आरोपको छानविन गर्न डराएको बताउनुभयो ।

उहाँले कांग्रेस उम्मेद्वार खड्का पहिचानको पक्षधर भएको जनाउँदै आम मतदातालाई रुख चिह्नमा मतदानका लागि अपिल गर्नुभयो । 

कार्यक्रममा कांग्रेस उम्मेदवार डम्बर खड्का, इलाम कांग्रेसका नेताद्वय भेषराज आचार्य र केशव थापाले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा झापा र मोरङबाट आएका कार्यकर्ताको समेत बाक्लो उपस्थिति रहेको थियोे ।