२३ भदौ २०८१, आइतवार

सिक्किममा भानु जयन्तीको उल्लास (हेर्नुहोस् तस्वीरहरु)

३२ असार २०८१, सोमवार
Image

गान्तोक (सिक्किम), २९ असार । भारतको हिमाली राज्य सिक्किमको राजधानी गान्तोकमा आज आदिकवि भानुभक्त आचार्यको २१० औं जयन्ती भब्यरुपमा मनाइएको छ ।

आज विहान ९ बजे गान्तोकको मध्यभागमा रहेको भानु उद्यानमा आदिकवि भानुभक्तको पूर्णकदको शालिकमा सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यसहित राज्यका मन्त्रीहरुले माल्यार्पण गरेपछि विशेष समारोह सुरु भएको थियो ।

आदिकवि भानुभक्त आचार्यको जयन्ती कार्यक्रमको प्रमुख अतिथि राज्यपाल पनि संयोगले आचार्य थरिकै हुनुहुन्थ्यो । उहाँले आफ्नो मन्तब्यको सुरुवात र समापन भानुभक्तको रामायणको श्लोकहरु बाचन गरेर गर्नु भएको थियो ।

स्थानीय जात जाति र भाषा भाषीको पहिचानसहितको शोभायात्राले नेपाली मौलिक शैलीको घरको झाँकी र नौमति बाजा अघि लगाएर गान्तोक सहर परिक्रमा गर्दा स्थानीय बासिन्दा छमछमी नाचेका थिए ।

भानु जयन्तीको अवसरमा सिंगो गान्तोक सजाएर झकिझकाउ बनाइएको थियो । भानु उद्यानमा नेपाली साहित्य परिषद्ले राज्यस्तरीय समारोहको आयोजना गरेको थियो ।

कार्यक्रममा नेपाल र भारतको दार्जीलिङ, आसाम, कालिम्पोङ लगायतका स्थानबाट अतिथिहरु निम्त्याइएका थिए । नेपालको प्रतिनिधित्व नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी र  पत्रकार अम्बिका भण्डारीले गर्नु भएको थियो ।

यसपालीको भानु जयन्तीको नारा “हाम्रो एकता, हाम्रो समृद्धि” रहेको परिषद्का महासचिव निलम न्यौपानेले बताउनुभयो । 

कार्यक्रमको सुरुमा बालिकाहरुद्वारा मंगलाचरण बाचन गरिएको थियो । भानु जयन्ती समारोह समितिका अध्यक्ष एवम् विधायक दिले नाम्ग्याल बर्फुङ्पाले स्वागत र परिषद्का महासचिव न्यौपानेले उद्घोषण गर्नु भएको कार्यक्रममा परिषद्का अध्यक्ष हरि ढुंगेलले अध्यक्षता र उपाध्यक्ष नवीन लामिछानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।