२ कार्तिक २०८१, शुक्रवार

पूर्व उपकुलपति गुरुङलाई भानु साहित्यिक पुरस्कार

३० असार २०८१, शनिवार
Image

झापा, २९ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई यस वर्षको भानु साहित्यिक पुरस्कार प्रदान गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २१० औं जयन्तीको अवसरमा आज उहाँलाई रु. एक लाख नगद राशीको पुरस्कारले सम्मान गरेको हो । 

काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कारबाट संगीत साधना प्रतिष्ठान नेपाल, सुनसरीलाई नगद रु. २१ हजार, कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कारबाट सुसेली साहित्यिक प्रतिष्ठानलाई रु. २१ हजार, हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कारबाट पत्रकार पिनाकीप्रसाद कोइरालालाई नगद रु. २१ हजार र कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कारबाट टेवलटेनिस खेलाडी अमिता गिरीलाई नगद रु. २१ हजारसहित सम्मान गरिएको छ ।

भानु उद्यमी पुरस्कारबाट खड्गबहादुर अधिकारीलाई नगद रु. १५ हजार, भानु प्रशंसा पुरस्कारबाट कवि केन्द्रप्रसाद भट्टराईलाई नगद रु. ५ हजार र भानु प्रशंसा पुरस्कारबाट जयप्रसाद आचार्यलाई नगद रु. ५ हजारसहित सम्मान गरिएको छ ।

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले ती पुरस्कारहरु प्रदान गर्नु भएको थियो ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मेदनीप्रसाद खरेल र सञ्चालन महासचिव सुशिल आचार्यले गर्नु भएको थियो ।