८ कार्तिक २०८१, बिहिवार

मेचीनगरमा रु. १३ करोड ५२ लाख आन्तरिक राजस्व संकलन

१३ साउन २०८१, आइतवार
Image


झापा, १३ साउन । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक राजस्व रु. १३ करोड ५२ लाख पाँच हजार ८९७ संकलन गरेको जनाएको छ ।

अघिल्लो आवको तुलनामा रु. एक करोड ९० लाख ८४ हजार २०० बढी राजस्व संकलन भएको नगरकी राजस्व परामर्श समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताउनुभयो ।

आव २०७९/०८० मा आन्तरिक राजस्व रु. ११ करोड ६१ लाख २१ हजार ६९७ संकलन भएको थियो । एक वर्षमा रु. दुई करोडको हाराहारीमा आन्तरिक आयश्रोत वृद्धि हुनु आर्थिक सवलताको दृष्टिले उत्साहजनक रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाको राजस्व उपशाखाले विभिन्न ५० वटा शिर्षकमा करवापत राजस्व संकलन गर्दै आएको छ । सम्पति करतर्फ रु. तीन करोड ४० लाख १९ हजार ६४५ र अन्य सेवा शुल्क वापत रु. दुई करोड ३१ लाख ९७ हजार ३८१ संकलन भएको छ ।

व्यवसाय करतर्फ रु. एक करोड ५० लाख ९९ हजार ७८७ संकलन भएको नगरपालिकाले जनाएको छ । नक्शा पास दस्तुर वापत कार्यालयको राजस्व उपशाखाले रु. ९५ लाख ८५ हजार ३३२ संकलन भएको छ । सिफारिस दस्तुर वापत रु. दुई करोड तीन लाख ८७ हजार १४३ संकलन भएको छ । 

मेचीनगरमा रहेका १५ वटा वडामध्ये वडा नं. ६ ले उक्त अवधिमा सबैभन्दा बढी रु. एक करोड ७६ लाख २७ हजार ७०१ राजस्व संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

दोस्रो सबैभन्दा बढी राजस्व उठाउने वडा नं. १० रहेको छ । वडा नं. १० ले एक वर्षमा रु. एक करोड ६३ लाख ९९ हजार ५४५ राजस्व संकलन गरेको उहाँले बताउनुभयो ।

वडागत रुपमा सवैभन्दा बढी सम्पत्ति कर वडा नं. १० ले संकलन गरेको छ । सोही अवधिमा वडा नं. १० ले रु. ५९ लाख ७९ हजार ४३ सम्पत्ति कर संकलन गरेको छ ।

नगरपालिकाले चालु आवमा रु. १६ करोड ७७ लाख आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएको राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताउनुभयो । चालु आवनगरको कूल बजेट रु. दुई अर्ब पाँच करोड २९ लाख दुई हजारको छ ।