१ असोज २०८१, मङ्गलवार

प्रभु बैंकको मुद्दति बचतबाट सवा करोड गायव

१६ साउन २०८१, बुधवार
Image

झापा, १६ साउन । पत्रकार टिकाराम नेतिले विर्तामोडको प्रभु बैंकको शाखामा मुद्दति बचत गरेको आफ्नो परिवारको रु. एक करोड १७ लाख बैंकबाट गायव भएको बताउनु भएको छ ।

केही समय अघि नेति आफ्नो पत्नीसहित अमेरिका भ्रमणमा जानु भएको थियो । अमेरिका जानु ठिक अघि उहाँले पत्नी मञ्जु नेपालको नामबाट उक्त रकम बैंकको मुद्दति खातामा छ महिनाका लागि बचत गर्नु भएको थियो ।

मुद्दति बचतको अवधि पूरा (परिपक्व) भएपछि बैंक जाँदा आफ्नो खातामा रकम नभएको उहाँले आज पत्रकार सम्मेलन गरी बताउनुभयो ।

‘हामीले रु. एक करोड १९ लाख फिक्स्ड डिपोजिट गरेका थियौं,’ उहाँले भन्नुभयो–‘अहिले हेर्दा खातामा रु. २ लाख मात्र रहेको पाइयो ।’

उहाँले बैंक र प्रहरीमा उजुरी दिदै आफ्नो बचत फिर्ताको माग गर्नु भएको छ । बैंकका शाखा प्रबन्धक गणेशबहादुर बरालले यस विषयमा खोजविन गर्न छानविन समिति बनाएको जानकारी दिनुभएको पीडित नेतिले बताउनुभयो ।

सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार नेतिले बैंकले गैरजिम्मेवार र गम्भीर लापरवाहीपूर्ण व्यवहार देखाएको गुनासो गर्नु भएको छ । 

यसैबीच, प्रभु बैंकको विर्तामोड शाखामा बजार व्यवस्थापक पदमा कार्यरत चन्द्रगढी निवासी प्रमोद सिटौला फरार रहेको स्रोतले जनाएको छ ।