१ असोज २०८१, मङ्गलवार

ओमसाई पाथिभरा अस्पतालमा डिएनए टेस्ट सेवा सुरू

२७ साउन २०८१, आइतवार
Image

भद्रपुर २८ । भद्रपुरमा रहेको ओम साई पाथिभरा अस्पतालले नेपालमै पहिलो पटक डिएनए टेस्ट सेवा सुरू गरेको छ ।

भद्रपुरमा आयोजित कार्यक्रममा सो जानकारी गराइएको  हो ।

लगभग ३ महिना अगाडि झापाको विर्तामोडबाट मेरो डिएनए कार्यक्रममार्फत परीक्षण सेवा सुरूवात गरिने बताइएको थियो ।

छ वर्ष अगाडि अमेरिकाबाट सुरू भएको रोग पहिचान गर्ने यो अत्याधुनिक डिएनए टेस्ट सेवाको नेपालमै पहिलो पटक सुरूवात गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक पोखरेलले बताउनु भयो ।

उहाँले  दुई वर्षमाथिका मानिसको परीक्षण हुने डिएनए टेस्टले मानिसका शरीरमा भइरहेका तथा हुन सक्ने रोगको बारेमा जानकारी दिने हुँदा शरीर भित्रका रोगको पहिचान गरी उपचार सेवाको अवसर मिलाउन सकिने समेत बताउनु भयो ।

डिएनए टेस्ट सेवाका विज्ञ डा.आर्सी मौलेका अनुसार छिमेकी भारतमा दुई वर्षयता सुरू भएको डिएनए टेस्ट जीवनमै एक पटक मात्र गरिने परीक्षण रहेको जानकारी दिनुभयो ।

उहाँले टेस्टमा १३१ प्रकारका परीक्षण हुने भएकाले मानव शरीरका लागि आवश्यक तत्व, वंशाणु परम्परागत रोग, भविष्यमा आउन सक्ने रोगका बारेमा ९९.९९ प्रतिशत विश्वसनीय रिर्पोट आउने समेत बताउनुभयो  ।

१६५ प्रकारका औषधी उपचारका क्रममा शरीरले स्वीकार्छ वा स्वीकार्दैन भन्ने तथ्य समेत डिएनए टेस्टबाट पत्ता लाग्ने जानकारी दिँदै डा.मौलेले हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आयुको सही जानकारी लिनका लागि एक पटक परीक्षण गर्नै पर्ने बताउनुभयो ।  अस्पताल प्रशासन  प्रमुख दिप पौडेलले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा अस्पताल सञ्चालक बालकुमार पोखरेल साईराम, प्रदेश सांसद मोहन महर्जन  लगायतका भद्रपुरका उद्योगी ,व्यावसायी, पालिका प्रमुखहरु समेतको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।