२३ भदौ २०८१, आइतवार

पूर्वीनाकाबाट पाँच वर्षमा रु. ८९ करोडको ई–रिक्सा आयात

७ भदौ २०८१, शुक्रवार
Image


झापा, ७ भदौ । पूर्वीनाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई–रिक्सा)को आयात वर्षेनी बढिरहेको भन्सार कार्यालयले जनाएको छ । विद्युतीय रिक्सा प्रचलनमा आएपछि परम्परागत पाइडल रिक्सा लोप भएका छन् ।

पाँच वर्षमा रु. ८९ करोड ४३ लाख ३६ हजार १६१ मूल्य बराबरको १० हजार १६४ वटा ई–रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा रु. ४१ करोड २० लाख ३९ हजार ९५९ मूल्य बराबरको चार हजार ६४५ वटा ई–रिक्सा पूर्वीनाकाबाट भित्रिएको छ । यसअघिको आव २०७९/०८० को तुलनामा उक्त आयात दोब्बरभन्दा बढी हो ।

आव २०७९/०८० मा रु. १६ करोड ७१ लाख १९ हजार २१३ मूल्य बराबरको एक हजार ८५९ वटा ई–रिक्सा आयात भएको थियो । ई–रिक्साको आयात महसुल वापत मेची भन्सार कार्यालयले बिगत पाँच वर्षमा रु. ३१ करोड ३७ लाख ३२९ राजस्व असुली गरेको भन्सारले जनाएको छ ।

आव २०७६/०७७ मा यही नाकाबाट रु. आठ करोड ८१ लाख ५१ हजार ८४० मूल्य बराबरको एक हजार ३२ वटा ई–रिक्सा आयात भएको थियो भने आव २०७७/०७८ मा रु. आठ करोड ७२ लाख सात हजार ९९९ मूल्य बराबरको एक हजार ११५ वटा आयात भएको थियो ।

तथ्यांकले ई–रिक्साको आयात वर्षेनी निरन्तर बढेको देखाउँछ । आव २०७८/०७९ मा रु. १३ करोड ९८ लाख १७ हजार १५० मूल्य बराबरको एक हजार ५१३ वटा ई–रिक्सा काँकडभिट्टास्थित भन्सार भएर आयात भएको थियो ।

बिगत पाँच वर्षयता झापाको सहर बजारमा विद्युतीय रिक्साले छोटो दूरीको सवारीमा एकछत्र सेवा पुर्याउँदै आएको छ । विद्युतीय रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा लोप भइसकेका छन् ।

विद्युतीय रिक्सा व्याट्रीबाट चल्ने हुँदा यसलाई घरमै रिचार्ज गरेर चलाउन सकिन्छ भने चालकलाई यसले थप सुविधाजनक तुल्याएको छ । बिगतमा परम्परागत रिक्सा चलाउनेहरुले अहिले ई–रिक्सा खरिद गरेर गुजारा चलाउन थालिसकेका छन् ।

यसैबीच, पूर्वीनाका काँकडभिट्टा हुँदै बिगत पाँच वर्षमा रु. दुई करोड ४० लाख १३ हजार २४७ मूल्य बराबरको १४५ वटा तीन पांग्रे स्कुटर भन्सार महसुल छुटमा आयात भएको छ ।

मेची भन्सार कार्यालयबाट प्राप्त तथ्यांक अनुसार फरक क्षमता भएका शारीरिक अशक्त व्यक्तिहरुले प्रयोग गर्ने तीन पांग्रे स्कुटर भन्सार छुटमा आयात गर्दा प्रज्ञापन पत्र वापत रु. पाँच सय र मूल्य अभिवृद्धि करवापत रु. ६५ मात्र महसुल बुझाउनु पर्दछ ।