१ असोज २०८१, मङ्गलवार

तीन अग्रज र एक सञ्चारकर्मीलाई अनेमसंघको सम्मान

८ भदौ २०८१, शनिवार
Image

मेचीनगर, ८ भदौ । अखिल नेपाल महिला संघ मेचीनगरले भूमिगतकालीन तीन जना अग्रज कार्यकर्ता र एक जना सञ्चारकर्मीलाई आज सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा पञ्चायतकालीन सत्ताविरुद्ध भूमिगत रुपमा नेकपा एमाले र अनेमसंघमा आवद्ध मेचीनगर वडा नं. ९ की बिमला कुँवर, वडा नं. २ की तुलसा नेपाल, वडा न. ६ की कल्पना सिटौला र पत्रकार अम्बिका भण्डारी हुनुहुन्छ ।

अनेमसंघ मेचीनगरको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अनेमसंघ केन्द्रीय उपाध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य मेनुका काफ्ले, नेकपा एमाले केन्द्रीय सदस्य रविन कोइराला, एमाले केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेती लगायतले सम्मानित व्यक्तिहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

सो अवसरमा मेचीनगरका अनेमसंघ वडा कमिटीहरुमध्ये उत्कृष्ट वडा नं. १४ को कमिटीलाई समेत सम्मान गरिएको थियो ।

अनेमसंघ मेचीनगरको दोस्रो अधिवेशन प्रमुख अतिथि काफ्लेले पानसमा दीप प्रज्ज्वलन गरी मेची सामुदायिक भवनमा उद्घाटन गर्नु भएको थियो ।

उहाँले उद्घाटन मन्तब्य क्रममा महिलालाई पोथीको संज्ञा दिने सामन्तबादी व्यवस्थाविरुद्ध लडेर आएको अनेमसंघ अब महिलालाई राज्यका हरेक तहमा ३३ प्रतिशत स्थान दिलाउने अभियानमा रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा क्षेत्र नं. १ का इञ्चार्ज रविन कोइरालाले महिला मात्रै उम्मेद्वार बन्न पाउने गरी ३३ प्रतिशत सिट आरक्षित हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

अनेमसंघ मेचीनगरकी अध्यक्ष जानुका ओलीको अध्यक्षता, उपाध्यक्ष हेमा सिटौलाको स्वागत मन्तब्य र सचिव अनिता गुरागाईको सञ्चालनमा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् नगर उपप्रमुख मीना उप्रेती, अनेमसंघ झापा अध्यक्ष पवित्रा पाठक, एमाले मेचीनगर अध्यक्ष राजु कार्की र सम्मानित पत्रकार अम्बिका भण्डारीले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

उक्त अवसरमा मेचीनगर वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीले मुरली बजाएर र कलाकार निरु खवासले नृत्य गरेर कार्यक्रमलाई रोचक तुल्याउनु भएको थियो । कार्यक्रममा राजबंशी नृत्य समेत प्रस्तुत गरिएको थियो ।

एमाले केन्द्रीय सल्लाहकार हरिचरण बानियाँ, अग्रज महिला नेतृ लता प्रसाई, रेणुका खवास, दुर्गा कार्की, निरु परियार, कृष्ण कनाल लगायतका अतिथिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

सहभागीहरुले खचाखच हलमा तीजको गीतमा सामूहिक नृत्य समेत गरिनुका साथै दर खुवाइएको थियो ।