१ असोज २०८१, मङ्गलवार

देशकै पुरानो भद्रपुर नाकाबाट वर्षौदेखि निर्यात शून्य

११ भदौ २०८१, मङ्गलवार
Image

झापा, ११ भदौ । बिगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो ।

वि.सं. २००७ सालभन्दा अघिदेखि राणाकालीन व्यापारिक नाकाको रुपमा परिचित भद्रपुरको भन्सार नेपालकै पुरानो मानिन्छ । तर, वि.सं. २०७५ भदौ १९ गते मात्र यसले छोटी भन्सारबाट स्तरोन्नति हुँदै मुख्य भन्सारको मान्यता पाएको हो ।

मुख्य भन्सारको मान्यता पाएपछि भद्रपुर भन्सार कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति र क्षेत्राधिकार बढ्यो । तर, निर्यात व्यापारको ढोका भने अहिलेसम्म खुल्न सकेको छैन ।

नेपालले भन्सारको स्तरोन्नति गरे जस्तै सीमापारिको गलगलियास्थित भारतीय नाकाको स्तरोन्नति हुन सकेको छैन । गलगलिया अहिले पनि छोटी भन्सारको रुपमा सञ्चालन भइरहेको छ । त्यहाँ सामान भण्डारण गर्ने गोदाम र जाँचपास गर्ने एजेन्ट लगायतका सुविधा छैन ।

वि.सं. २००७ सालपछि नेपालबाट चामल, काठ लगायतका सामान भारत निर्यात गर्ने मुख्य नाकाको रुपमा भद्रपुर चिनिएको थियो । काँकडभिट्टामा मेची पुल र राजमार्ग विस्तार भएपछि भद्रपुरको व्यापार क्रमशः ओरालो लागेको हो ।

आर्थिक वर्ष २०७६÷०७७ देखि गत आव २०८०÷०८१ सम्म पाँच वर्षको अवधिमा भद्रपुर भन्सार कार्यालयले रु. ९९ करोड ७७ लाख राजस्व असुली गरेको कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनप्रसाद सिटौलाले बताउनुभयो ।

उहाँका अनुसार आव २०७६÷०७७ मा रु. १४ करोड ४९ लाख, आव २०७७÷०७८ मा रु. २७ करोड ३४ लाख, आव २०७८÷०७९ मा २४ करोड १३ लाख, आव २०७९÷०८० मा रु. नौ करोड ४७ लाख र आव २०८०÷००८१ मा रु. २४ करोड ३४ लाख राजस्व असुली भएको छ ।

चालू आव २०८१÷०८२ मा भद्रपुर भन्सारले रु. ३३ करोड १३ लाख राजस्व असुलीको लक्ष्य निर्धारण गरेको छ । आव २०८०÷०८१ मा रु. १२ करोड सात लाख असुलीको लक्ष्य लिएको कार्यालयले आश्चर्यजनक उपलब्धि हाँसिल गर्दै रु. २४ करोड ३४ लाख राजस्व असुली गरेको थियो ।

बिगत पाँच वर्षमा असुली भएको रु. ९९ करोड ७७ लाख भन्सारबाट आयात भएको मालसामानको महसुलवापत हो । हालसम्म यस भन्सारबाट नेपाली कुनै पनि सामान निर्यात नभएको हुँदा निर्याततर्फको राजस्व शून्य रहेको भन्सार प्रमुख सिटौलाले स्वीकार गर्नुभयो ।

व्यापारिक नाका भनेकै दोस्रो र तेस्रो मुलुकसँग सामानको आयात र निर्यात गर्ने स्थान हो । तथापि भद्रपुर नाका नेपालका लागि सामान भित्राउने नाकामा सीमित हुन पुगेको छ । 

सीमावर्ती गलगलिया नाका भारतको विहार प्रान्त अन्तर्गतको कम प्राथमिकतामा परेको भन्सारको सूचीमा रहेको छ । गलगलिया भन्सारमा भौतिक पूर्वाधार, गोदाम, भन्सार एजेन्ट लगायतको सुविधा छैन । 

स्थानीय व्यवसायीहरुका अनुसार रु. पाँच लाखभन्दा बढी मूल्यका सामान नेपाल ल्याउन समेत गलगलिया भन्सारले दिएको छैन । पाँच लाखभन्दा बढी मूल्यका सामान फारवेसगञ्ज नाकाबाट जाँचपास गराएर मात्र नेपाल ल्याउन पाइने नियमका कारण नेपाली व्यवसायीहरु हैरान छन् । 

भद्रपुर भन्सार कार्यालयका प्रमुख सिटौलाले यस नाकाबाट लत्ताकपडा, चिया उद्योगका पार्टपूर्जा, प्याकिङ मेटेरियल, प्लाइउड उद्योगमा प्रयोग हुने रेजिन लगायतका केमिकलहरु र बालीनालीमा प्रयोग हुने विषादीजन्य बस्तुहरु आयात हुने जानकारी दिनुभयो ।

झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठले भारतीय नाकाको भन्सारलाई स्तरोन्नति गरिने हो भने नेपालबाट चिया, प्लाइउड लगायतका वर्षेनी अर्बौ मूल्यका नेपाली उत्पादन निर्यातको बाटो खुल्ने सम्भावना रहेको बताउनुभयो ।

“भारतीय पक्षलाई विभिन्न माध्यमबाट गलगलिया भन्सारको स्तरोन्नति गर्नका लागि दवाव दिइरहेका छौं,” अध्यक्ष श्रेष्ठले भन्नुभयो–“यही दवावका कारण भारतको विहार सरकारले गलगलिया भन्सारलाई स्तरोन्नति गर्दै भन्सार कोड प्रदान गरेको खबर आएको छ । अब छिटै निर्यात व्यापारका लागि ढोका खुल्ने आशा गरेका छौं ।”

उहाँले भारतीय भन्सारले कोड प्राप्त गरेपछि क्वारेन्टाइन लगायतका अन्य कार्यालय समेत स्थापना गर्न जरुरी रहेको बताउनुभयो । गलगलिया भन्सारमा चाँडै भन्सार एजेन्टहरु नियुक्त हुने जानकारी आएको समेत उहाँले बताउनुभयो ।

नेपालकै पुरानो भन्सार भए तापनि विगतमा मेची नदीमा पुल नभएका कारण व्यापार प्रभावित भएको थियो । वि.सं. २०७६ मा मेची नदीमा पक्की पुल निर्माण भइसकेको छ । नेपालतर्फ छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सार घोषणा भएपछि भन्सारमा जनशक्ति थप गरेर २० जना पुर्याइएको छ ।

भद्रपुर भन्सार कार्यालय मातहतमा पाठामारी, घेराबारी, पन्थापाडा, केचना र कुमरखोद गरी पाँच वटा छोटी भन्सार रहेका छन् । कुमरखोद बाहेक अरु छोटी भन्सारको गतिविधि ठप्प रहेको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।