२० असोज २०८१, आइतवार

मैनालीको रणमैदानलाई मदन पुरस्कार, यादवलाई जगदम्बाश्री

१४ भदौ २०८१, शुक्रवार
Image

झापा, १४ भदौ । उपल्लो थलो, मान्ठ डराएको जुग, देखेको देश जस्ता पुस्तक लेखेर प्रसिद्धि कमाएका खोज पत्रकार तथा अनुसन्धाता मोहन मैनालीको अर्को कृति मुकाम रणमैदानले मदन पुरस्कार पाउने भएको छ ।

नेपाल अंग्रेज युद्धसम्बन्धी पछिल्लो अनुसन्धान पुस्तक मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने घोषणा मदन पुरस्कार गुठीले शुक्रबार गरेको छ ।

पुरस्कार घोषणापछि मैनालीले भन्नुभयो  ‘मदन पुरस्कारको घोषणा अप्रत्याशित तर ऊर्जा दिने खबर हो । म अझै काम गर्नेछु ।’ 

साथै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।

दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ रहेको छ ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो ।

जसमा मैनालीको मुकाम रणमैदानसँगै  भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।

जगदम्बाश्री पुरस्कार पाउने यादव भने भाषा विज्ञान विषयका प्राध्यापक हुनुहुन्छ । उहाँ त्रिविको भाषा विज्ञान विभागको पूर्वप्रमुख हुनुहुन्छ ।

पुरस्कार आगामी असोजमा वितरण हुनेछ ।

-अनलाइन खबरबाट