१ असोज २०८१, मङ्गलवार

एउटा विद्यालयमा दुई जना प्रधानाध्यापक नियुक्ति भएपछि....

१५ भदौ २०८१, शनिवार
Image

झापा, १५ भदौ  कमल गाउँपालिका वडा नंं. ३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुई जना शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गरिएपछि आधा महिनादेखि विद्यालयको शैक्षिक वातावरण तनावग्रस्त बनेको छ ।

गाउँपालिकाले साउन २९ गते शिक्षक नवराज नेम्वाङलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्ति गरेको थियो । लगत्तै भोलिपल्ट साउन ३० गते व्यवस्थापन समितिले पालिकाको निर्णय अस्वीकार गर्दै अर्का शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापक नियुक्ति गरेको थियो । एउटा विद्यालयमा दुई जना प्रधानाध्यापक नियुक्ति भएपछि विद्यालयको शैक्षिक वातावरण खल्बलिएको विद्यार्थी सञ्जालका अध्यक्ष लक्ष्मण चौधरीले बताउनुभयो । 

“हेडसर को बन्नुभयो भन्ने विषयमा भन्दा पनि हाम्रो चासो विद्यालयको पठनपाठन विथोलिनु हुँदैन भन्ने हो,” विद्यार्थी सञ्जालका अध्यक्ष चौधरी भन्नुहुन्छ–“बाहिरका नचिनेका मान्छेहरु यसलाई बनाउनु पर्यो र उसलाई बनाउनु पर्यो भन्दै विद्यालयको हाताभित्र पसेर तथानाम होहल्ला मच्चाउँछन् । यो त राम्रो भएन नि ।”

विद्यार्थी सञ्जालले पठनपाठन नबिथोल्न आग्रह गर्दै विवाद, छलफल र विरोधका कार्यक्रमहरु विद्यालयभित्र नगरिदिन सबै पक्षको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो । सञ्जालले ध्यानाकर्षण पत्र व्यवस्थापन समिति, वडा कार्यालय र स्थानीय प्रहरी कार्यालयमा बुझाएको छ ।

हजारौं विद्यार्थी अध्ययनरत् उक्त विद्यालयमा गाउँपालिकाले शिक्षक नवराज नेम्वाङलाई शिक्षा ऐनमा भएको व्यवस्था विपरीत नियुक्ति गरेको व्यवस्थापन समितिको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले शिक्षा ऐनमा स्थायी शिक्षकमध्येबाट १० वर्ष सेवा अवधि पूरा गरेका ज्येष्ठ शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्ने प्रष्ट व्यवस्था रहेको बताउनुभयो ।

“कस्तो योग्यता र अनुभवप्राप्त शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्ने भनेर ऐनमा भनिएकै छ,” अध्यक्ष खतिवडाले भन्नुभयो–“त्यही नियमलाई टेकेर व्यवस्थापन समितिको बैठकले स्थायी शिक्षकमध्ये १० वर्ष सेवा अवधि पूरा गरिसकेको ज्येष्ठ शिक्षक शिवप्रसाद भट्टराईलाई नियुक्त गरेको हो ।”

विद्यालयमा नियुक्ति पाएका दुवैजना प्रधानाध्यापकको पक्षमा दिनहुँजसो विद्यालय परिसरमा शक्ति प्रदर्शन हुन थालेको छ । गाउँपालिकाले गरेको नियुक्ति कार्यान्वयन हुनुपर्यो भन्दै एउटा समूहले संयुक्त संघर्ष समिति गठन गरेको छ ।

संघर्ष समितिका संयोजक दुरेन नेम्वाङले पालिकाले नियुक्ति गरेर पठाएको शिक्षक नवराज नेम्वाङलाई नै प्रधानाध्यापकको कार्य गर्ने वातावरण व्यवस्थापन समितिले बनाउनु पर्नेमा विभिन्न अभियोग लागेका शिक्षकलाई मनोमानीपूर्वक नियुक्ति गरेर विवाद बढाएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र संघर्ष समितिका व्यक्तिहरुबीच विद्यालय परिसरमै भनाभन हुने गरेको छ । व्यवस्थापन समितिले नियुक्ति गरेका प्रधानाध्यापकको पक्षमा भन्दै शिक्षक र विद्यार्थी प्रदर्शनमा उत्रिन थालेका छन् । नियुक्ति पाएका दुबै प्रधानाध्यापकका विषयमा विवाद चलिरहेको कारण हाल निमित्त प्रधानाध्यापक प्रभाकर काफ्लेले विद्यालयको नेतृत्व गरिरहनु भएको छ ।