१ असोज २०८१, मङ्गलवार

ऋण खाएर तिर्नु पर्दैन भन्ने भ्रम नपाल्न आग्रह

२२ भदौ २०८१, शनिवार
Image

मेचीनगर, २२ भदौ । नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून)का केन्द्रीय सञ्चालक शालिकराम ढकालले ऋण खाएर तिर्नु नपर्ने भन्ने भ्रम नपाल्न सर्वसाधारणहरुलाई आग्रह गर्नु भएको छ ।

पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाको आज धुलाबारीमा आयोजित १८ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै उक्त आग्रह गर्नु भएको हो ।

ऋण तिर्नु नपर्ने भनेर केहीले समाजमा भ्रम छरिरहेको जनाउँदै उहाँले सहकारीमा सदस्यको बचत रहने र त्यही बचतबाट अरु सदस्यले ऋण लिने गरेको बिर्सन नहुने बताउनुभयो ।

‘एकदुई जनाले खराव काम गरे भन्दैमा सबै सहकारी खराव हुन् भनेर हल्ला पिट्नु गलत हो,’ उहाँले भन्नुभयो–‘ऋण खाएपछि तिर्नु पर्दैन भन्नेहरु फटाहा हुन् ।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका मेचीनगरका प्रतिनिधि कमल खनाल, मेचीनगर बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक समिति सदस्य पुष्पा भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाले नियमित बचतकर्तातर्फ भृकुटीका उत्कृष्ट शेयर सदस्य नितेश माँझी, ज्यामिरगढीका रञ्जिता पाहान, धाइजनकी यमुना चौधरी र ज्यामिरगढीका महम्मद वाहिद, नियमित ऋणितर्फ धुलाबारीकी उत्कृष्ट शेयर सदस्य जानुकादेवी ठकुरी र ज्यामिरगढीकी विमलाकुमारी मगर, ज्येष्ठ नागरिकतर्फ खुट्टीडाँगीका उत्कृष्ट शेयर सदस्य तेजबहादुर रेग्मी र काँकरभिट्टाकी सरस्वती राई, उद्यमी तथा व्यवसायीतर्फ धुलाबारीका उत्कृष्ट शेयर सदस्य लिला खनाल र हरिप्रसाद नेपाल, संरक्षित पुँजी फिर्ता कोष वितरणतर्फ धुलाबारीकी देविका कार्की कट्टेललाई नगद एक हजारसहित सम्मान गरेको छ ।

संस्थाले उत्कृष्ट कर्मचारीतर्फ ईटाभट्टा सेवा कार्यालयकी कनिष्ठ सहायक द्वितीय विमला भट्टराईलाई सम्मान गरेको छ ।

वि.सं. २०६३ असार ७ गते ३३ जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल ५ हजार ७७७ जना सदस्य छन् । 

संस्थामा रु. ३ करोड १३ लाख ३ हजार शेयर पुँजी रहेको छ भने रु. १९ करोड ८९ लाख ३० हजार २४६ बचत तथा निक्षेप, रु. २० करोड २ लाख ८८ हजार ८७२ ऋण लगानी, रु. २ करोड ८९ लाख ९४ हजार १९८ खर्च, रु. २७ करोड ५७ लाख ३१ हजार ६२२ कुल सम्पत्ति र कुल आम्दानी रु. ३ करोड ५ लाख ९२ हजार ९२१ र खुद सञ्चालन बचत अर्थात मुनाफा रु. १५ लाख ९८ हजार ७२३ रहेको छ ।

संस्थाका अध्यक्ष वीपी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले नै अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा परीक्षण प्रतिवेदन लेखा संयोजक गोपालबहादुर राउतले प्रस्तुत गर्नु भएको थियो ।

उद्घाटन सत्रको सञ्चालन संस्थाका व्यवस्थापक प्रल्हाद खड्काले र बन्दसत्रको सञ्चालन सञ्चालक समिति सदस्य चेतन विष्टले गर्नु भएको थियो ।