३ कार्तिक २०८१, शनिवार

नेतन्याहुको निजी निवासलाई हिजबुल्लाहले बनायो ड्रोनबाट निशाना

३ कार्तिक २०८१, शनिवार
Image

काठमाडौँ । लेबनानबाट भएको ड्रोन आक्रमणले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाएको छ ।

इजरायली सरकारका प्रवक्ताले प्रधानमन्त्री नेतन्याहु र उनकी श्रीमती दुबै यस आक्रमणको समयमा घरमा उपस्थित नभएको र यसमा कुनै मानवीय क्षति नभएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुको घर शिजरिया क्षेत्रमा छ । यसअघि इजरायली सेनाले शनिबार बिहान इजरायलतर्फ तीनवटा ड्रोन आक्रमण भएको बताएको थियो ।

यी मध्ये एउटा ड्रोनले भवनलाई निशाना बनाएको थियो भने अन्य दुईलाई इजरायलले रोकेको थियो । एक सामाजिक सञ्जाल पोस्टलाई उद्धृत गर्दै भनिएको छ, ड्रोनले निशाना बनाएको भवन नेतान्याहुको व्यक्तिगत निवासको हिस्सा थियो ।

यसअघि इजरायली रक्षा बल (आईडीएफ) ले शुक्रबार राति करिब २० वटा मिसाइल लेबनानबाट इजरायलमा प्रवेश गरेको जानकारी दिएको थियो । यी मध्ये केही क्षेप्यास्त्रहरू रोकिएका छन् भने केही क्षेप्यास्त्रहरू खुला ठाउँमा खसेको आइडीएफले जनाएको छ ।

एक टेलिग्राम पोष्टमा, हिजबुल्लाहले शुक्रबार राति इजरायलको उत्तरी क्षेत्रहरू, सफेद, मलाकिया र एविविममा धेरै रकेटहरू प्रहार गरेको जानकारी दिएको थियो ।