८ कार्तिक २०८१, बिहिवार

भारतमा चक्रवाती आँधी 'दाना' को चेतावनी

८ कार्तिक २०८१, बिहिवार
Image

काठमाडौँ । भारतमा चक्रवाती आँधी 'दाना' को चेतावनी जारी गरिएको छ । बिहीबार पश्चिम बंगाल र ओडिशाको तटमा पुग्ने बताइएको छ । 

भारतीय मौसम विज्ञान विभागले दाना आँधीबारे जानकारी दिदै आँधीले गत राति घातक चक्रवाती आँधीको रुप लिएको छ र विगत ६ घण्टादेखि १२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पश्चिम दिशामा सरेको बताएको छ ।

दाना आँधी अहिले मध्य र उत्तर-पश्चिम बंगालको खाडीमा ओडिशाको पराद्वीपबाट २६० किलोमिटर दक्षिण-पश्चिममा रहेको छ । उत्तरपश्चिमबाट उत्तरी ओडिशा र पश्चिम बंगालतर्फ सर्ने सम्भावना रहेको विभागले बताएको छ । 

आँधीको चेतावनीपछि पश्चिम बंगाल सरकारले नौ जिल्लाका सबै विद्यालय बन्द राख्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले माछा मार्नेहरुलाई समुन्द्रमा नजान आग्रह गरेको छ । समुन्द्रमा गएका मछुवाहरुलाई फिर्ता बोलाइएको छ । तटीय क्षेत्रमा माइकमार्फत सर्वसाधारणलाई सचेत गराइएको छ ।

त्यस्तै ओडिशाको प्रसिद्ध पर्यटकीय गन्तव्य पुरीबाट मंगलबार पर्यटकलाई बाहिर निकालिएको छ । प्रदेशका १४ जिल्लाका सबै विद्यालय २३ गतेदेखि २५ गतेसम्म बन्द रहनेछन् । दानालाई ध्यानमा राख्दै राष्ट्रपति द्रौपदी मुर्मुको भ्रमण पनि स्थगित गरिएको छ ।