८ कार्तिक २०८१, बिहिवार

जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ- प्रधानमन्त्री ओली

८ कार्तिक २०८१, बिहिवार
Image

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपाल आफ्नो भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्याएका हुन् । 

'हामी विश्वस्त छौं कि जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्र सङ्घको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्गनिर्देशन गर्नेछ, जुन हामी जस्ता कमजोर राष्ट्रहरूको अस्तित्वको लागि आवश्यक छ ।', प्रधानमन्त्री ओलीले भने, 'विश्वभरको यो अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसंघका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको छ । हामी शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवद्र्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौं ।’

उनले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैं शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराउँदै दुई ठूला छिमेकीहरूको बीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग शत्रुता’ को नीति कायम राख्ने स्थितिमा रहेको पनि बताए ।