१६ माघ २०८१, बुधवार

पूर्वीनाकाबाट पर्यटक आगमन बढ्यो, भूटानीको लर्को

१० कार्तिक २०८१, शनिवार
Image

झापा, १० कात्तिक । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । बिगत दुई महिनामा यहाँबाट ८९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो । सन् २०२४ को सेप्टेम्बर महिनामा यस नाका भएर २८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताउनुभयो ।

अक्टुबर महिनामा तेस्रो मुलुकका नागरिकको आगमन बढेर ६०३ पुगेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा आगमन अझ बढ्ने सम्भावना छ । 

भारत सरकारले कोरोना महामारी सुरु भएदेखि काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटंकीबाट तेस्रो मुलुकका नागरिकलाई आउजाउ गर्न निषेध गर्दै आएको थियो । नेपालको निरन्तर दवावपछि यही अगस्टदेखि तेस्रो मुलुकका नागरिकको आवतजावतका लागि भारतले नाका खुला गरेको हो । 

भारतको पानीटंकी नाका हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकमा भूटानीको संख्या अधिक रहेको छ । बिगतमा बंगलादेशी नागरिकको लर्को लाग्ने गरेकोमा हाल बंगलादेशी नागरिकको आगमन नगण्य छ ।

अध्यागमन अधिकृत भट्टराईका अनुसार सेप्टेम्बर महिनामा नेपाल प्रवेश गरेका २८७ जना तेस्रो मुलुकका नागरिकमा भूटानीको संख्या १६८ र अमेरिकी ५४ र अस्ट्रेलियन चार जना रहेका छन् ।

यसैगरी, अक्टुबरमा तेस्रो मुलुकबाट नेपाल आएकाको कूल संख्या ६०३ रहेकोमा भूटानी ३४६, अमेरिकी १३० र अस्ट्रेलियन २३ जना रहेको भट्टराईले बताउनुभयो ।

“काँकडभिट्टा नाका भएर आउने तेस्रो मुलुकका नागरिकमध्ये आधाजसो भूटानी नागरिक छन्,” अध्यागमन अधिकृत भट्टराईले भन्नुभयो–“धेरैजसो भूटानी नागरिकहरु धार्मिक तीर्थाटन र थोरैजसो भेटघाटका लागि आउनु हुँदोरहेछ ।”

घुमफिरका लागि आउने भूटानी नागरिकहरुले लुम्बिनी, फर्पिङ र हलेसी जाने बताउने गरेका छन् । भूटानीसहित सार्क मुलुकका नागरिकका लागि काँकडभिट्टा नाकामै अनअराइभल भिसा जारी हुने व्यवस्था छ भने एक वर्षमा एकखेपमा ३० दिन अवधिसम्मको भिसा निःशुल्क हुने गरेको छ ।

“सार्क मुलुकका नागरिकका लागि एक भिसा बर्षमा ३० दिनसम्म निःशुल्क भिसा प्रदान गरिने व्यवस्था छ,” भट्टराईले भन्नुभयो–“यो निःशुल्क सुविधाको भूटानी नागरिकहरुले लाभ लिनु भएको देखिन्छ । तीस दिनभन्दा बढी अवधिका लागि भिसा दिनु परेमा प्रत्येक दिनको तीन अमेरिकी डलरका दरले भिसा शुल्क लिने गरिएको छ ।”

गैरआवासीय नेपाली नागरिक र शरणार्थीको रुपमा तेस्रो मुलुकमा पुनस्र्थापना भएका भूटानी नागरिकहरुले नेपाल आउनका लागि काँकडभिट्टा नाका प्रयोग गर्न रुचाउने गरेको पाइन्छ ।