९ माघ २०८१, बुधवार

क्यान्सरलाई जितेर लेखिएको उपन्यास ‘याङरुप’को विमोचन

२४ कार्तिक २०८१, शनिवार
Image

झापा, २४ कात्तिक  क्यान्सर जितेका झापाका शिक्षक ज्ञानु बुढाथोकीको सामाजिक उपन्यास ‘याङरुप’ आज विर्तामोडमा विमोचन भएको छ ।

वरिष्ठ साहित्यकार कृष्ण धराबासी, भाषाविद् प्रा.डा. टङ्क न्यौपाने, प्रा.डा. बद्रीविशाल पोखरेल, मुन्धुम अध्येता मधु केरुङ, डा. बालचन्द्र सुब्बा, अग्रज पत्रकार चन्द्र भण्डारी र समालोचक तारा विविधले उक्त उपन्यास ‘याङरुप’को संयुक्त बिमोचन गर्नुभएको हो ।

झापाली साहित्य समाज र सप्तक संगीत विद्यालयले आयोजना गरेको विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार धराबासीले ‘याङरुप’ माटोको सुगन्ध बोकेको उत्कृष्ट आख्यानात्मक कृति रहेको बताउनुभयो ।

विर्तामोडको देवी माध्यमिक विद्यालयका शिक्षक बुढाथोकीले फोक्सोको क्यान्सरसँंग जुधिरहेका बेला चार वर्ष मिहेनत गरेर उपन्यास लेखेको बताउनुभयो । शब्द मिडिया प्रालि कृतिको प्रकाशक रहेको छ ।

“क्यान्सरको बायुपंखी घोडा चढेर काल आधाबाटो आइसकेको थियो,” आफ्नो भनाई राख्दै उहाँले भन्नुभएको छ–“मैले आफु सुत्ने ओछ्यानमा सिरानीलाई सुताएर ब्ल्याङ्केट ओढाइदिएँ । आफु भने कथा लेख्न लेखकको अनुहार लगाइटोपलेँ । काल आयो, मेरो नजिक पनि आयो । तर मलाई नचिनेर अल्मलियो, जुन आजसम्म पनि झुक्किरहेकै छ ।”

समीक्षक एवम् मुन्धुम अध्येता मधु केरुङले पूर्वी नेपालको याङवरक गाउँपालिकामा रहेको याङरुप गाउँलाई केन्द्रविन्दु बनाएर लेखिएको उपन्यासमा अगाध देशप्रेम झल्किएको बताउनुभयो । उपन्यासमा लिम्बु जनजीवन समेत पढ्न पाइने बताउनुभयो ।

शिक्षक डा. कुमार सुबेदीले क्यान्सरलाई जितेर लेखकले साहित्य भण्डारमा एउटा मूल्यवान कृति उपहार दिनु भएको उल्लेख गर्दै क्यान्सरसँग जुध्ने बलियो आत्मविश्वास र साहित्यप्रति लेखकको गहिरो चेत नै याङरुपको रचनागर्भ भएको बताउनुभयो ।