९ माघ २०८१, बुधवार

उपनिर्वाचन

कनकाई–६ मा छानिए दलका उम्मेद्वार

२९ कार्तिक २०८१, बिहिवार
Image

नेकपा एमालेको उम्मेद्वार घोषणा कार्यक्रम ।

झापा, २९ कात्तिक । कनकाई नगरपालिकाको वडा नं. ६ मा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि स्थानीय राजनीतिक दलहरु उम्मेद्वारको चयनसहित चुनावी अभियानमा होमिएका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मङ्सिर २ गते उम्मेद्वारको मनोनयन हुनेछ । क्रियाशील दलहरुले आफ्नोतर्फबाट बन्ने उम्मेद्वारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको छ ।

निर्वाचन कार्यालय झापाले कनकाई–६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाता रहेको जनाएको छ । जसमा महिला एक हजार ५८ र पुरुष एक हजार मतदाता रहेका छन् ।

उपनिर्वाचनका लागि चम्पापुर माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ भने मतदानस्थलमा चम्पापुर (क) र चम्पापुर (ख) गरी दुई मतदान केन्द्र रहेका छन् ।

वि.संं. २०७९ को स्थानीय तह निर्वाचनमा सोही वडाबाट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका तर्फबाट उम्मेद्वारको टुंगो लगाइसकेका जनाएका छन् ।

नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले आफ्नो पार्टीबाट तुलाराम बस्नेतलाई उम्मेद्वार बनाउने निर्णय भइसकेको र पार्टीको स्थानीय नगर कमिटीलाई चुनावी अभियानको नेतृत्व गर्न जिम्मेवारी दिइएको बताउनुभयो ।

नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओलीलाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरिएको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईले बताउनुभयो । पार्टीले चुनावी अभियानलाई तीब्र बनाइसकेको उहाँले बताउनुभयो ।

नेकपा माओबादी केन्द्रले उपनिर्वाचनमा गणेश थापालाई उम्मेद्वार बनाउने घोषणा गरिसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई उम्मेद्वार बनाउने निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिनुभयो ।