९ माघ २०८१, बुधवार

विचार

अराजकतावादी र पश्चगामी समूहको भ्रमको खेती

५ मंसिर २०८१, बुधवार
Image

प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष कमरेड केपी शर्मा ओली, जसले श्रीमती राधिका शाक्यको जागिरकालमा अर्जित सम्पत्तिसमेत आफ्नो मरणोपरान्त स्वसिद्ध राज्यको हुने शर्तमा बकस गरिदिएको छ । परिवारभित्र कसैलाई सम्पत्ति जोडिदिनुपर्ने अवस्था छैन । राजाको सक्रिय राजनीतिक राजकीयसत्ताका अँध्यारा कालखण्डमा १४ वर्ष झ्यालखाना बसेर आउनुभएका उहाँ सभ्याचरणका पर्याय हुनुहुन्छ । मानिसको आचरण, वरव्यवहार र दैनिक सक्रियतामा लोकतन्त्र र लोकतान्त्रिक आचरण प्रकट गर्नुपर्छ भन्ने मान्यता दृढ उहाँले कम्युनिष्ट आन्दोलन र राजनीतिक–बैचारिक उद्देश्यनिर्देशित संगठनात्मक काममा समेत लोकतान्त्रिक आचरण अवलम्बनलाई अनिवार्य गर्नुभएको छ । यसैको राजनीतिक दिशानिर्देशमा आज एमालेबाहेक लोकतान्त्रिक राजनीतिक पार्टी र सिंगो समाज लोकतान्त्रिककरणको प्रक्रियामा सफलतापूर्वक प्रवेश गरेको छ । 

यसकारण उचाइ लिनुभएका उहाँ कतिपयलाई मन पर्नुहुन्न होला ! यो पनि लोकतान्त्रिक आचरण र आस्था नै हो । फलतः विभिन्न बेलामा उहाँविरुद्ध राग अपाल हुने र जहर ओकाल्ने गरिन्थ्यो, गरिन्छ र अहिले फेरि नियोजित ढंगले गरिएको छ । कम्बोडियामा टेलिकम बिजनेसको प्रसङ्ग जोडेर कपोलकल्पित झुठको खेती आरम्भ गरिएको छ, कुनै आकर्षक तथ्य, उर्जा र उर्वरता नभएको साढे ३२ अर्बको सेयर लगानी भनेर कीर्ते कागजात, अडियो र भिडियो तयार गरेर भ्रामक चर्चा सुरु गरिएको छ ।

केही अराजनीतिक, अराजकतावादी र पश्चगामी समूहको यो भ्रमको खेती गर्न मलजल गर्ने शक्तिलाई नेपाल र नेपालीको उन्नति–प्रगतिविरुद्ध खडा शक्तिकेन्द्रका रूपमा पहिचान गर्न र जनमतमार्फत निस्तेज गर्न जरुरी छ ।

यो आफैंमा राजनेता केपी शर्मा ओलीविरुद्धको षडयन्त्र मात्रै होइन, विभिन्न नामधारी अभियन्ताद्वारा स्वचालित वा परिचालित उहाँको देशभक्तिपूर्ण अडानविरुद्धको अभियान हो र यो अडानको पक्षमा दृढ़ उभिने देश, नागरिक, प्राप्त लोकतान्त्रिक व्यवस्था र कम्युनिष्ट आन्दोलनविरुद्धको गम्भीर षडयन्त्र हो भन्ने निष्कर्षसहित अग्रसरता लिन हामी सचेत पंक्तिलाई अब निकै हतारो हुनुपर्छ ।

देशमा राजनीतिक अस्थिरताको निरन्तरताभित्र आफ्ना अनुचित आकांक्षाहरू पूरा गर्न उद्यत तत्व, केही पात्र र प्रवृत्तिहरूले पनि यस्ता निन्दा र भत्सर्नायोग्य हरकतहरूलाई उकेरा लगाएको आभास हुन्छ । तिनको पलितपोषित क्षणिक लाड, आड र भरोसामा समकालीन नेपाली राजनीतिमा टावरिङ व्यक्तित्व कमरेड केपी शर्मा ओलीलाई ढाल्न सकिन्छ कि भनेर यो सबै प्रपञ्च गरिएको हुनुपर्छ भन्ने सहजै निष्कर्ष निकाल्न सकिन्छ । सामाजिक सञ्जालमा सेयर, लाइक र यसमाथिको क्षुद्र टिप्पणीले पनि यसलाई जगजाहेर गर्दछ ।  

सफा नियत र स्वच्छ मनले भन्नुपर्दा– यो फटाहापन हो, फटाहा मन हो र झुठो वकवासको पछिल्लो एउटा हावामहल झैँ लाग्ने पुलिन्दा मात्र हो । प्राप्त लोकतन्त्र, लोकतान्त्रिक हाम्रो अभ्यास र समाजको लोकतान्त्रीकरणको चरित्र भनेको केवल अश्लील अभिव्यक्ति, परस्पर अस्तित्वको दोहन र अराजकता किमार्थ होइन । राज्यले यिनलाई कडाइसाथ कारबाहीको दायरामा ल्याउनुपर्छ ।

समाजमा निराशा फैलाउन खोज्नु, अराजकता र अस्थिरता ल्याउन खोज्नु समस्याको समाधान होइन । यसबेला जिम्मेवार हामी सबै यसविरुद्ध एक ठाउँमा उभिएर प्रतिवाद गरौँ !! प्रहरी प्रशासनले तत्काल यो अपराधमा संलग्न र आपराधिक गतिविधि गर्ने समूहलाई छानबिनको अधीनमा लियोस् ! यस प्रक्रियामा सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ ! 

आज नानाभाँतीका आरोपहरू कसैलाई लक्षित गर्दै लगाइरहने अवस्था भोलि अरु कसैमाथि नहोला भन्न सकिँदैन । कसैको व्यक्तित्व, अस्तित्व र प्रतिष्ठालाई धुमिल पार्न झुठा लाञ्छना लगाउने नियत र नियति सरासर गलत छ । समाजमा सकारात्मक प्रभावभन्दा पनि निराशा जन्माउन नकारात्मक भेलबाढी ल्याउने पहल प्रयत्न भइरहेको छ । आममानिसको पहुँचमा रहेको विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल हतियारभन्दा ठूलो अनियन्त्रित अस्त्र बनाइँदै छ । अनियन्त्रित सामाजिक सञ्जाललाई सरसर्ती नियाल्दा र सुक्ष्म अध्ययन गर्दा कीर्ते दस्तखतदेखि लिएर विभिन्न प्रकरणमा ठगफटाहाहरू एक ठाउँमा उभिएको देखिन्छ । भिन्नभिन्न आस्थागत अवस्थामाझ सक्रिय सामाजिक सद्भावलाई बिथोल्नु, अभद्र गाली संस्कृति निर्माणमा सामाजिक सञ्जालमा रहेको पुस्तालाई उतार्नु, समाजमा निराशा र भ्रमको खेती गर्दै राजनीतिलाई दुषित तुल्याउने र जनमतलाई विद्यमान राजनीतिक प्रणालीविरुद्ध उभ्याउन उद्यत रहनु यो अनियन्त्रित अभिव्यक्तिको मकसद देखिन्छ । 

यति अपील भइरहँदा प्रस्तुत विषयवस्तुमा स्पष्टता छ भन्ने लाग्छ । आज होइन, अढाई तीनदशकयता मेरो आदरणीय अध्यक्षलाई मैले राम्रोसँग चिनेको छु, जानेको छु । उहाँविरुद्धको प्रहारले मलाई छोएको छ । यत्रतत्र उभिएर बोल्न सक्नु, तर्क अघि सार्न सक्छु । यसका बावजुद कसैले मलाई यस्ता वाइयात विषयवस्तु लेखेर सेयर गर्छ, ट्याग गर्छ र इन्बक्समा हाल्छ भने तथ्यसत्य उजागर गर्ने प्रमाणित कागजात जुटाओस् ! जुटेका सवुतिका आधारमा राज्यको न्यायिक र नियमनकारी निकायमा जान तयार छु । आफू गलत रहेछु भनेर आफैंलाई ठम्याउने छ, सम्याउने छु र सम्हाल्ने छु । प्रचारबाजीमा ल्याएको फेक विषयवस्तुप्रति निन्दा एवम् भत्सर्ना गर्दै गलतका विरुद्ध एक ठाउँमा उभिन अपील गर्दछु ।

लेखकको बारेमा
Image
युवराज बास्कोटा