९ पुष २०८१, मङ्गलवार

हिन्दू राज्यका अभियन्ता कालीबाबा भन्नुहुन्छ–“अन्तिम सास रहुञ्जेल लडिरहनेछु”

८ मंसिर २०८१, शनिवार
Image

शनिश्चरे, ८ मंसिर । प्रभावशाली हिन्दू धार्मिक नेता कालीबाबाले नेपालमा हिन्दू राज्य स्थापना नभएसम्म विश्राम नलिने बताउनु भएको छ ।

आज अर्जुनधारा जलेश्वरधामको वार्षिक अनुष्ठानको उद्घाटन गर्दै उहाँले भन्नुभयो–“हिन्दू राष्ट्र कायम गर्न अन्तिम सास रहुञ्जेल लडिरहनेछु ।”

उहाँले धार्मिक मन्तब्यको क्रममा नेपालका नेताहरुको चर्को आलोचना गर्नुभयो । गणतन्त्रबादी नेताहरुले धर्म निरपेक्ष राष्ट्र बनाएर गम्भीर भूल गरेको उहाँको धारणा थियो । 

हिन्दू राज्य कायम गर्ने आन्दोलनमा जुट्न उहाँले सबैलाई आह्वान समेत गर्नु भएको छ ।

अनुष्ठान उद्घाटन कार्यक्रममा हिन्दू राज्य स्थापनाको माग अरु धर्मगुरुहरुले पनि गर्नु भएको थियो ।

भारतको कालिम्पोङस्थित मंगलधामका प्रमुख एवम् श्रीकृष्ण प्रणामी धर्मगुरु मोहन प्रियाचार्यले नेपाललाई हिन्दू राज्य बनाउन अपरिहार्य भएको धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका अन्य गैरराजनीतिक वक्ताहरुले हिन्दू राज्यको स्थापनाका लागि आन्दोलन नै गर्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।

को हुन् कालीबाबा ?

भारतको दिल्लीमा बस्नु हुने धर्मगुरु कालीबाबाको खास नाम कालिदास दाहाल हो । उहाँको धार्मिक नाम कालीदास बाबा र स्वामी १००८ कृष्णानन्दजी महाराज पनि हो । 

उहाँ नेपालमा गणतन्त्र स्थापना भएदेखि नै चर्को विरोध गर्ने धार्मिक नेतामध्ये प्रमुख हुनुहुन्छ । उहाँको जन्म ओखलढुंगा जिल्लामा भएको हो ।

भारत गएर उहाँले तान्त्रिक विद्या सिकेको र धार्मिक ज्ञाताको रुपमा नयाँ परिचय बनाएको बताइन्छ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग निकट उहाँ राजतन्त्र र हिन्दू राज्य स्थापना हुनुपर्ने अभियान सञ्चालन गर्नुहुन्छ ।

गत भदौमा पनि उहाँ झापा आउनु भएको थियो । हेलिकोप्टरबाट पर्यटकीय स्थल चेप्टी, सताक्षीधाम र पाथिभरा पुगेर उहाँ काठमाडौं फर्किनु भएको थियो ।

झापामा उहाँका शुभेच्छुकहरुको ठूलो संख्या रहेको मानिएको छ । यसपाली झापा आउँदा उहाँले पाउँ पाथिभरा धाम पुगेर पूजा तथा भेटघाट गर्नु भएको थियो ।