१७ पुष २०८१, बुधवार

कविराज हिरण्यप्रसाद भट्टराईको व्यक्तित्व झल्किने ‘मनीषी दर्पणमाला’ बिमोचन

१२ मंसिर २०८१, बुधवार
Image

धुलाबारी, १२ मंसिर । साहित्यकार एवम आयुर्वेदका ज्ञाता कविराज हिरण्यप्रसाद भट्टराईको जीवनी र कृतित्वमा आधारित पुस्तक (लेखहरुको सँगालो) प्रकाशित भएको छ ।

त्रिफला राष्ट्रिय पुस्तकालयले उक्त पुस्तक प्रकाशित गरेको हो । जसलाई 'मनीषी दर्पणमाला' नामाकरण गरिएको छ ।

पुस्तकालयको धुलाबारीस्थित सभाहलमा एक समारोहबीच दर्पणमालाको विमोचन गरिएको छ । नायव बडागुरु प्राडा माधव भट्टराईले पुस्तकको विमोचन गर्नुभयो ।

उक्त अवसरमा नेपाल र भारतका प्रवुद्ध साहित्यकारहरुको उपस्थिति रहेको थियो । आजै कविराज भट्टराईको जन्मदिन समेत परेको हुँदा उहाँको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै शुभकामना समेत व्यक्त गरिएको थियो ।

पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीको अध्यक्षता र बडागुरु भट्टराईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा साहित्यकार उद्धव बिष्टले कृतिको समीक्षा गर्नु भएको थियो भने कृतिका सम्पादक जीवनहरि शर्माले कृति प्रकाशन गर्दाका अनुभूतिहरु सुनाउनु भएको थियो ।

कार्यक्रममा साहित्यकार एवम् आयूर्वेदका ज्ञाता भट्टराईको अभिनन्दन गरिएको थियो । सयौं संघ संस्थाका व्यक्तित्वहरुले उहाँलाई फूल्माला, खादा र अबिर अर्पण गरेका थिए । सो अवसरमा स्वस्ती बाचन र पाउ पाथिभराको भजन गाइएको थियो । 

चार सय ६२ पृष्ठको ठूलो आकारको कृतिभित्र १३१ वटा लेख रचना प्रकाशित भएका छन् । लेखमा कविराज भट्टराईले साहित्य, आयूर्वेद र अन्य क्षेत्रमा पुर्याउनु भएको योगदानको लेखकहरुले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

वि.सं. १९९९ मंसिर १२ गते भोजुपुरको सुप्लामा जन्मनु भएको उहाँ हाल मेचीनगर वडा नंं १ बाहुनडाँगीमा बस्नुहुन्छ ।

उहाँका घरायसी उपचार, आफ्नो उपचार आफै गरौं, आयूर्वेद उपचार पद्धति आफ्नो उपचार, प्राकृतिक तथा आयूर्वेद उपचार पद्धति र जडीबुटी खाऔं चीरायू रहौं लगायतका पुस्तक प्रकाशित भइसकेका छन् ।