झापा, १५ मंसिर । राष्ट्रिय सहकारी बैंकका सञ्चालक समितिका सदस्य एवम् सहारा बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले सहकारी क्षेत्रलाई बद्नाम गरिएको कारण सहकारीको कार्यक्रमहरुमा अतिथि आउन डराउने अवस्था सिर्जना भएको टिप्पणी गर्नु भएको छ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को हालै विर्तामोडमा आयोजित माइन्यूट प्रमाणित तथा वार्षिक साधारण सभामा बोल्दै उहाँले गलत कार्य गर्ने केही सहकारी र ऋण नतिर्न चलाइएको अभियानका कारण सहकारी क्षेत्र बद्नाम भएको बताउनुभयो ।
“सहकारी भन्ने वित्तिकै एलर्जी हुन थालेको छ,” उहाँले भन्नुभयो–“व्यक्तिगत फाइदाका लागि सञ्चालकहरु आफैले ऋण लिने कार्यले समेत सहकारी क्षेत्र बद्नाम भएको हो ।”
उहाँले झापाका आठ दश वटा बाहेकका सहकारी राम्रो ढंगले सञ्चालन भइरहेको बताउनु भयो । झापाका राम्रो चलेका सहकारी देशकै उदाहरणीय भएको समेत बताउनुभयो ।
उहाँले एनएमसी सहकारीले कृषि औद्योगिकीकरणको क्षेत्रमा सबैभन्दा राम्रो कार्य गरिरहेको बताउनुभयो । उहाँको भनाई थियो–“एनएमसी राम्रो सहकारीको रुपमा देशमै देखाउनलायक सहकारी हो । यसले कृषि औद्योगिकीकरण र रोजगारीको क्षेत्रमा राम्रो काम गरेर देखाएको छ ।”
कार्यक्रममा बोल्दै झापा जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्काले विधि मिचेर चलेका सहकारीहरु दुर्घटनामा परेको बताउनुभयो ।
उहाँले ऋण तिर्नु पर्दैन भन्ने हल्लाका पछाडि नलाग्न सहकारीका सदस्यहरुलाई आग्रह गर्नुभयो ।