९ माघ २०८१, बुधवार

प्रधानमन्त्री ओलीद्वारा दमक बिजनेस कम्प्लेक्सको आज उद्घाटन हुँदै

२३ मंसिर २०८१, आइतवार
Image

झापा, २२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित दमक बिजनेस कम्प्लेक्सको आइतवार उद्घाटन गर्नुहुने भएको छ । एक सय मिटर उचाईको यो कम्प्लेक्स १८ तलाको छ ।

प्रधानमन्त्री ओली कम्प्लेक्स उद्घाटन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन आइतवार काठमाडौंबाट गृहजिल्ला झापा आउनु हुने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताउनुभयो ।

उहाँले दमक नगरपालिका वडा नं. ३ दापगाँछीमा नवनिर्मित दमक बिजनेस कम्प्लेक्स रु. एक अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना चन्द्रगढीले जनाएको छ ।

प्रजिअ बाँस्तोलाका अनुसार बिजनेस कम्प्लेक्स उद्घाटन कार्यक्रममा सहभागी हुन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह समेत आउनु हुनेछ । 

वि.सं. २०७६ असार २७ गते प्रधानमन्त्री ओलीले नै यस कम्प्लेक्सको शिलान्यास गर्नु भएको थियो । निर्माण कम्पनीले एक वर्ष अघि नै यसको निर्माण सम्पन्न गरेको थियो ।

अठार तलाको कम्प्लेक्स भवनको ७२ मिटर उचाइसम्म कंक्रिट संरचना रहेको छ भने त्यसभन्दा माथि २८ मिटरसम्म मेटल फ्रेमको टावर रहेको छ । यसको कूल उचाई काठमाडौंको धरहराभन्दा अग्लो रहेको छ ।

चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले यो कम्प्लेक्सको निर्माण गरेको हो । यसको सञ्चालन नेपाल सरकारले विकास समिति मार्फत गर्ने तयारी गरेको छ ।

नवनिर्मित कम्प्लेक्सको भुइँतलामा ४० वटा चारचक्के र २०० वटा दुईचक्के सवारीसाधन अटाउन सकिने पार्किङस्थल निर्माण गरिएको छ । कम्प्लेक्सलाई पूणर्रुपमा व्यापारिक प्रयोजनमा लैजाने सरकारको तयारी रहेको सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका इन्जिनियर भूपेन्द्र यादवले बताउनुभयो ।

भवनमा रेस्टुरेन्ट, लज, बैंक, वित्तीय संस्था, सेमिनार हल लगायत कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल सञ्चालन गर्न सकिने संरचना तयार गरिएको उहाँले जानकारी दिनुभयो । 

यसैबीन, प्रधानमन्त्री ओलीले मेचीनगर नगरपालिका वडा नं. ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको उद्घाटन आइतवार नै गर्नुहुने भएको छ ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीका अनुसार प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य मानव आश्रम भवन बाहुनडाँगीको उद्घाटनका लागि आउनु हुने कार्यक्रम रहेको छ ।