झापा, १५ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा माओबादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारको सेटिङ भत्किन थालेपछि रातारात षडयन्त्र गरेर माओबादी नेतृत्वको सरकार ढालिएको दावी गर्नु भएको छ ।
उहाँले भ्रष्टाचारको अन्त्य र सुशासन ल्याउने नेपाली जनताको सपना अझै पूरा नभएको बताउँदै त्यसका लागि परिवर्तनको संवाहक माओबादी केन्द्रलाई बलियो बनाउन नागरिकसँग अपिल गर्नु भएको छ ।
झापाको गौरीगञ्जमा आज पार्टीद्वारा आयोजित ‘भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभा’लाई सम्बोधन गर्दै उहाँले ‘भ्रष्ट, दलाल, भूमाफिया र बिचौलियाविरुद्ध अभियान चलाएवापत’ आफ्नो नेतृत्वको सरकार रातारात ढालिएको बताउनुभयो ।
“भ्रष्टाचारविरुद्धको अभियानमा दलकै नेताहरु समातिदै गएका थिए, सेटिङमा चलेका कर्मचारी, भूमाफिया र बिचौलियाहरु कानूनी कार्वाहीको दायरामा तानिदै गएका थिए,” उहाँले भन्नुभयो–“सेटिङ भत्किन थालेपछि रातारात एउटा षडयन्त्र भयो र मैले सरकारबाट बाहिर जानुपर्ने परिस्थिति भयो ।”
उहाँले संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार गठन गरेका संसारमा कहिँ उदाहरण नपाइने उल्लेख गर्दै संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत आफ्नो नेतृत्वमा गठित सरकारले बहुमत सिद्ध गर्न नसकेपछि स्वतः धारा ७६ को उपधारा ३ अन्तर्गत सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन हुनुपर्ने धारणा राख्नु भयो ।
मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रसहितको नयाँ संविधान ल्याउन नेकपा माओबादी केन्द्रको मुख्य भूमिका रहेको उल्लेख गर्दै उहाँले परिवर्तनको बाहक राजनीतिक शक्ति माओबादी केन्द्र बलियो नभएसम्म प्राप्त उपलब्धिहरु दीगो नहुने जिकीर गर्नुभयो ।
आगामी वि.सं. २०८४ मा हुने चुनावमा नेकपा माओबादी केन्द्रलाई २०६४ सालमा जस्तै पहिलो पार्टी बनाउन नागरिकलाई अपिल गर्दै उहाँले भन्नुभयो–“माओबादी केन्द्र कमजोर भएमा गणतन्त्र बलियो हुँदैन । चौरासीको चुनावमा माओबादी केन्द्रलाई पहिलो पार्टी बनाएपछि भ्रष्टाचारको जरा उखेल्ने प्रतिवद्धता व्यक्त गर्दछु ।”
उहाँले देश र जनतालाई सुशासन दिनु बाहेक आफ्नो अर्को लक्ष्य नभएको जनाउँदै झापाले यसका लागि ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल गौरीगञ्ज लगायतको क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुन आजै काठमाडौंबाट झापा आउनु भएको हो । गौरीगञ्जमा पार्टीको पालिका अधिवेसन उद्घाटन गर्ने र स्थानीय विकास निर्माणका अधुरा परियोजनाहरु निरीक्षण गर्ने उहाँको कार्यक्रम रहेको छ ।