झापा, १६ पुस ः कोशी प्रदेश सरकारले दुई लाख ६५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप लगाउने तयारी गरेको छ ।
प्रदेशका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष उमेर समूहका किशोरीहरुलाई एचपीभी खोप लगाइने प्रादेशिक स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले बताउनुभयो ।
आगामी माघ २३ गतेदेखि खोप केन्द्रमार्फत किशोरीहरुलाई खोप लगाइने र यसका लागि माघ १० गतेभित्र सबै पालिकामा खोपको मात्रा पुर्याउने निर्देशनालयको तयारी छ । आवश्यक खोप प्रदेशमा आइसकेको समेत उहाँले जानकारी दिनुभयो ।
यो खोप लगाएपछि भविष्यमा पाठेघरको मुखको क्यान्सर संक्रमण नहुने भएका कारण नेपालमा खोप लगाउने अभियान चलिरहेको छ । खोप निःशुल्क उपलब्ध हुनेछ ।
खोप अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य प्रमुख र पालिकाका स्वास्थ्य प्रमुखलाई गत मंसिरमै अभिमुखीकरण कार्यक्रममा सहभागी गराइएको र खोप कार्यक्रमको योजना तयार गरिएको निर्देशनालयले जनाएको छ ।
योजना अनुसार माघ ३ गतेभित्र जिल्लाका स्वास्थ्य कार्यालयमार्फत सबै पालिकाका र माघ १२ गतेभित्र वडाका स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । पालिका र वडाहरुलाई खोप कार्यक्रमको प्रचार प्रसार गर्न समेत निर्देशनालयले निर्देशन दिएको छ ।
प्रदेशका १४ जिल्लामा माघ १२ देखि १५ गतेभित्र जिल्ला खोप समन्वय समितिले सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम गर्ने र माघ १५ देखि १८ गतेभित्र पालिका र वडाका खोप समन्वय समितिले विद्यालय शिक्षक र स्वयम्सेविकाहरु माझ अभिमुखीकरण कार्यक्रम गरिने योजना छ ।
खोपको प्रचार प्रसार सामग्रीहरु हरेक घरमा पुर्याउने तयारी भइरहेको जनाउँदै हाल झापा, मोरङ, सुनसरी र धनकुटामा आवश्यक प्रचार सामग्री, खोप रजिस्टार र खोप कार्ड पुगिसकेको खोप अधिकृत भण्डारीले जानकारी दिनुभयो । अन्य जिल्लामा तीन भित्रमा त्यस्ता सामग्री पुर्याइने उहाँले बताउनुभयो ।
“प्रदेशमा खोपको कमी हुने छैन” उहाँले भन्नुभयो, “तर खोप सबै लक्षित किशोरीहरुमा पुर्याउन चुनौति छ । यसका लागि सबै राजनीतिक दल, सामाजिक क्षेत्र, स्थानीयवासी र सञ्चारकर्मीको सहयोगको अपेक्षा गरेका छौं ।” विद्यालय बाहिर रहेका किशोरीहरु अधिकांश पिछडिएका र गरीबीका चपेटामुनी रहेका हुँदा उनीहरुको पहिचान गरी खोप केन्द्रसम्म ल्याउनका लागि स्वास्थ्यकर्मीले मात्र नसक्ने हुँदा सचेत नागरिक सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।