१ माघ २०८१, मङ्गलवार

बीएन्डसी मेडिकल कलेज

बीएन्डसीमा एमबीबीएसको पठनपाठन सुरु भएकोमा झापाबासी हर्षित

२९ पुष २०८१, सोमवार
Image

झापा, २९ पुस । जिल्लामै चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरु भएकोमा झापाबासीले हर्ष व्यक्त गरेका छन् ।

विर्तामोडको बीएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरु गरेको हो । 

काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले बेसिक साइन्स अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज बिगत १० वर्षदेखि सञ्चालनमा रहेको छ ।

प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाई सुरु हुनु झापाबासीका लागि गर्वको विषय भएको बताउनुभयो ।

“समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र महिला समुदायलाई एमबीबीएस पढ्ने कोटा दिन सके अझ राम्रो हुन्थ्यो,” उहाँले भन्नुभयो–“राजबंशी, सन्थाल, मेचे, धिमाल, ताजपुरिया लगायतका आदिवासी समुदाय प्राविधिक शिक्षाको पहुँचबाट टाढै छ ।”

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले खाडी मुलुकमा पसिना गालेर कमाएको पैसा छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउन अस्ट्रेलिया, यूरोप र अमेरिका पठाउनु पर्ने बाध्यता अब हट्ने भन्दै जिल्लामा मेडिकल शिक्षा सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले देशभित्रै पढ्न नपाउँदा वर्षेनी अर्बौ रकम विदेश गइरहेको जनाउँदै बीएन्डसी मेडिकल कलेजले अध्ययनको नाममा नेपाली पूँजीको विदेश पलायन रोक्न ठूलो सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । झापा अब मेडिकल हब बन्ने धारणा राख्दै उहाँ भन्नुहुन्छ–“कलेजको नाफा र घाटा सञ्चालकहरुको भए तापनि मेडिकल कलेज सम्पूर्ण झापाबासीको साझा सम्पत्ति हो । हिजोका दिनहरुमा झापालीहरु डाक्टर पढ्न विदेश जान्थे, अब विदेशबाट झापा आउने क्रम सुरु भएको छ ।”

महिला मानवाधिकार रक्षा सञ्जाल झापाकी अध्यक्ष कविता वाँस्तोलाले छोरी बुहारीहरुका लागि स्वास्थ्य विज्ञान विषयमा अध्ययन गर्न जिल्लामै सुनौलो अवसर आएको बताउनुभयो । उहाँले विदेशमा डाक्टर पढ्न जाँदा सुरक्षाका लागि विवाह गर्नै पर्ने र परनिर्भर हुनैपर्ने बाध्यताबाट छोरीहरुले छुटकारा पाएको जनाउँदै जिल्लामै यस्तो अवसर सिर्जना हुनु लैङ्गिक दृष्टिकोणले सकारात्मक भएको बताउनुभयो ।

“छोरीहरुले विदेश पढ्न जान सहज थिएन,” उहाँ भन्नुहुन्छ–“पुरुष साथी खोज्नु पर्ने र कतिपय अवस्थामा विवाह गर्नै पर्ने बाध्यतात्मक अभ्यासहरु थिए । अभिभावकहरु पनि त्यस्तै चाहन्थे । तर, जिल्लामै एमबीबीएस पढ्ने अवसर पाउँदा ती तमाम समस्याको एकैचोटी समाधान भएको छ । जिल्लामै अभिभावकहरुसँग बसेर पढ्न पाइने भएको छ ।” 

नेकपा माओबादी केन्द्रका कोशी प्रदेश कमिटी सदस्य एवम् झापा क्षेत्र नं. १ का इञ्चार्ज प्रकाश भण्डारीले बीएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाई सुरु हुनु भनेको झापाको शैक्षिक इतिहासमा नयाँ युगको थालनी भएको बताउनुभयो ।

“अझ धेरै अगाडि एमबीबीएसको पढाई झापामा हुनुपथ्र्यो,” उहाँले भन्नुभयो–“क्षमता भएका जिल्लाबासीका छोराछोरीले आफ्नै आँगनमा मेडिकल शिक्षा हासिल गर्नसक्ने अवस्था आउनु गौरवको विषय हो । विदेशमा मात्रै पढ्नु पर्ने बाध्यताको अन्त्य भएको छ । बंगलादेशमा गत वर्ष आन्दोलन हुँदा नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सकस भएको हामीले भुल्नु हुँदैन । अब जिल्लामै पढ्न पाएपछि विदेशको अनेक जोखिम मोल्नु परेन ।”

नेपाल अडिटर्स एसोसिएसनका केन्द्रीय सचिव जयधर्म पोखरेलले बंगलादेशमा एउटा नेपालीले एमबीबीएस कोर्स पूरा गर्न रु. एक करोड तिर्नु परिरहेको जनाउँदै बीएन्डसीले जिल्लामै पनपाठन गराउँदा हरेक व्याचमा रु. ५० करोड पूँजी विदेश जानबाट रोकिने बताउनुभयो ।

उहाँले दुई वर्ष अघि बीएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाई सञ्चालन हुन सकेको भए आफ्नो छोराले बंगलादेश जानु नपर्ने स्मरण गर्दै ढिलै भए पनि झापामा पढाई हुँदा अभिभावकहरुमा खुशीको माहौल छाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ–“मेरो छोराले बाध्यताबास बंगलादेशमा पढ्न जानु पर्यो । हामी विदेशमा ठूलो धनराशी खर्चेर पढ्न जानु पर्ने अवस्थाको अन्त्य भएको हेर्न चाहन्थ्यौं । झापामा एमबीबीएसको पढाई अलि अगाडि नै सुरु हुनु पथ्र्यो ।” 

विदेशी पनि पढ्न आउन थाले

यही पुस २६ गतेदेखि पठनपाठन सुरु भएको बीएन्डसी मेडिकल कलेजमा अध्ययनरत् ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् ।

स्वदेशी ३४ जनाध्ये पाँच जनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो ।

“पश्चिम बंगालको बागडोग्रा बिमानस्थलबाट ३५ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बीएन्डसी पहिलो रोजाई बनेको पाइयो,” जनसम्पर्क अधिकृत गिरीले भन्नुभयो–“हिजोका दिनमा नेपालीहरु मेडिकल शिक्षा लिन विदेश जानु पर्ने बाध्यता थियो, अब विदेशीहरु धाएर नेपालमा आउन थाले ।”

आफ्नै जिल्लामा एमबीबीएस तहको पठनपाठन गराउने झापाबासीको दशकौं पुरानो चाहना बल्ल पूरा भएको जनाउँदै उहाँले मेडिकल कलेजका लागि वि.सं. २०६८ मा सरकारबाट आशय पत्र पाउँदा र वि.सं. २०७१ मा ३०० शैयाको अस्पताल सञ्चालन हुँदा समेत पठनपाठन सुरु हुन एक दशक कुर्नु परेको बताउनुभयो ।

सत्तरी जना प्रोफेसर कार्यरत

प्रिन्सिपल प्राडा उमेश शर्मा ।

बीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बीएन्डसी कान्छो कलेज भएको स्मरण गर्दै पठनपाठन सुरु हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको बताउनुभयो ।

उहाँले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बीएन्डसी मेडिकल कलेज रोजेको जनाउँदै मेचीनगर–१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बाइलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजी लगायतका सुविधासम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको बताउनुभयो ।

“शान्त र सुविधासम्पन्न छ पढाउने भवन,” उहाँले भन्नुभयो–“बेसिक साइन्स भवनमा पाँच तला छन् । दुई वटा ठूला सेमिनार हल छन् । सात वटा डिपार्टमेन्टका अलग अलग कक्षा कोठाहरु छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय छ ।”

सबै विद्यार्थीलाई छात्रावास सुविधा र शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै उहाँले झापामा बीएन्डसी अस्पतालको स्थापनापछि एक हजार जनाले प्रत्यक्ष रोजगार पाएको र अब कलेज सञ्चालन भएपछि अरु एक हजार रोजगारी सिर्जना हुने बताउनुभयो ।

“भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिका दृष्टिले बीएन्डसीले धेरै अगाडि मेडिकल कलेजको सम्बन्धन पाउनु पथ्र्यो,” प्रिन्सिपल शर्माले भन्नुभयो–“सुरुमै पढाई हुन पाएको भए यतिखेर एक हजार जनाले एमबीबीएस उत्तीर्ण गरिसक्थे भने यहाँ पढ्नेहरु प्रोफेसर भइसक्थे ।”

झापाको आर्थिक विकासमा बीएन्डसी मेडिकल कलेज र हस्पिटलले ठूलो टेवा पुर्याएको र जिल्लालाई मेडिकल शिक्षा र मेडिकल टुरिज्मको हब बनाउने बाटो खुलाएको उहाँको धारणा छ ।    

सर्वोच्च अदालतले वि.सं. २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।