२७ वैशाख २०८३, आइतवार

दश वर्षे भिसाप्रति महामन्त्री शर्माको आपत्ति - ''सरकारले के ग्रिन कार्ड दिएको हो ?''

१ माघ २०८१, मङ्गलवार
Image

झापा, २९ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरआवासीय नेपालीलाई नागरिकता दिइसकेपछि दश वर्षे प्रवेशाज्ञा (भिसा) दिने अध्यादेशको व्यवस्था गलत भएको बताउनुभएको छ ।

गृहजिल्ला झापाको मेचीनगरमा आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले गैरआवासीय नेपाली नागरिकलाई भिसा दिनु नपर्ने गरी अध्यादेश सच्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“एउटा मान्छेलाई नागरिकता प्रदान गरिन्छ अनि भिसा पनि प्रदान गर्न मिल्छ ?,” सरकारले हालै मन्त्रिपरिषद्बाट सिफारिस गरेको अध्यादेशमा भएको त्रुटीप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो–“कि संविधानले गैरआवासीय नागरिकता हुन्न भन्न सक्नु पर्यो । आफ्नै नागरिकलाई दश वर्ष भिसा भनेर के ग्रिन कार्ड दिएको हो ? गैरआवासीय नागरिकता दिइसकेपछि फेरि भिसा दिने कुरा असंगत भयो । यो विषयलाई हामी हल गर्छौं ।”

उहाँले नेपाल भित्र मात्र होइन, बाहिर पनि एउटा नेपाल रहेको चर्चा गर्दै बाहिरको नेपाललाई समेत गाँसेर एउटा समुन्नत नेपाल बनाउनु पर्ने बताउनुभयो ।  

सरकारको स्थिरताबारे सोधिएको प्रश्नको जवाफ दिदै महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संसद्का दुई ठूला दलले मिलेर बनाएको वत्र्तमान सरकार अहिलेको आवश्यकता रहेको बताउनुभयो । तर सरकारले कामको गति बढाउन जरुरी रहेको उहाँको धारणा थियो ।

“प्रधानमन्त्रीमा केही गरौ भन्ने भावना छ,” महामन्त्री शर्माले सरकारको कार्यसम्पादन बारे टिप्पणी गर्दै भन्नुभयो–“प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलियो बनाएर लैजाने हाम्रो चाहना हो । तर, मन्त्री र प्रधानमन्त्रीले कामको गति बढाउन जरुरी छ ।”