समाचार टिप्पणी
समाचार टिप्पणी
झापा, ५ माघ । सँधैको भन्दा आजको विहान हुस्सु र भुइँकुहिरोले ढाकेको थियो । शितलहरले विराटनगरको सडक सुनसान जस्तै भइरहेको बेला एक्कासी एक हुल मानिस सडकमा देखिए । भक्काको बाफ उडाउँदै चिया सुरुप्प पिउँदै गरेका स्थानीयले पलाकपुलुक हेरे । चिसोको पर्वाह नगरी सडकमा हुलसँगै नेकपा माओबादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल मर्निङ वाकमा निस्कनु भएको रहेछ ।
नीलो ट्रयाक सुटमा विराटनगरको सडकमा निस्कनु भएको अध्यक्ष दाहालले स्थानीयको अभिवादन स्वीकार्दै छोटो कुराकानी गर्न भ्याउनु भएको थियो । उहाँसँग माओबादीका स्थानीय नेताहरु पनि थिए ।
दाहालको मर्निङ वाकले स्थानीयसँग जोडिन मदत मात्र पुर्याएको छैन, उहाँको यो जनतासँग नजिकिने शैलीलाई ‘मर्निङ वाक डिप्लोम्यासी’को रुपमा राजनीतिक वृत्तमा हेरिएको छ ।
गत महिना उहाँले झापा आउँदा समेत यस्तै ‘मर्निङ वाक डिप्लोम्यासी’ अपनाउनु भएको थियो । प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा उहाँ सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारसँग हिम्मतका साथ जुधिरहनु भएको छ ।
झापाको गौरीगञ्जमा दाहालले स्थानीय राजबंशी नेताको घरमा केराको पातमा राजबंशीको मौलिक खाना खानु भएको थियो । उहाँले खाना खाएको र मर्निङ वाक गरेको घटना मूलधारका मिडियामा समाचारको रुपमा प्रकाशित भइरहेका छन् ।
झापाको माओबादी एक नेता पछिल्लो समय अध्यक्ष दाहालको जनसम्पर्क मात्र होइन, क्रेज बढिरहेको दावी गर्नुहुन्छ । “अध्यक्ष कमरेड बोल्दा मात्र होइन, खाँदा र हिँड्दा समेत समाचार बनिरहेको छ,” ती नेता भन्नुहुन्छ–“सत्तामा छँदा भन्दा अहिले प्रचण्डको लोकप्रियता कयौ गुण बढेको छ ।”
राष्ट्रिय राजनीतिक वृत्तमा काठमाडौका मेयर बालेन साह, एमालेका अध्यक्ष केपी शर्मा ओली र धरानका मेयर हर्क साम्पाङको लोकिप्रयता अरुको तुलनामा बढी रहेको चर्चा हुने गरेको छ । केही महिना अघि ओलीको लोकप्रियता घटाउन बालेका समर्थकले फेसबुक पेजमा अनफ्लो गर्ने अभियान घोषित रुपमै चलाएका थिए ।
अहिले लोकप्रियताको ग्राफमा माओबादी अध्यक्ष दाहाल एक नम्बरमा रहनु भएको माओबादी नेताहरुको दावी छ । “फेसबुकमा अरु नेता जस्तो हाम्रो कमरेड (प्रचण्ड) झुत्तिरहनु हुन्न,” ती नेताको दावी छ–“तर, आम जनताको दृष्टिमा प्रचण्ड सबैभन्दा आशलाग्दो नेता हुनुहुन्छ । गत स्थानीय चुनावमा एक्लै लड्दा माओबादीले ल्याएको सिट र मतले पनि त्यही कुराको पुष्टि गर्छ ।”
दाहाल स्वयम् पनि बेला बेला भाषण क्रममा अहिलेको सरकारको साख गिरेको बताउनु हुन्छ । पछिल्लो समय माओबादीले दाहालको उपस्थितिमा आयोजना हुने जनसभाहरुमा सर्वसाधारणको भीड बढ्ने गरेको कारण पनि दाहाल निकै उत्साहित हुनुहुन्छ ।
‘मर्निङ वाक डिप्लोम्यासी’ त्यही लोकप्रियतालाई सडकमा देखाउने एउटा अवसर भएको बताइन्छ । बिगतमा दाहाल भीडमा जान नसक्ने अवस्थामा रहेको भन्दै उहाँको सुरक्षामा ठूलो फौज रहने गरेको चर्चा हुन्थ्यो । अहिले सुरक्षाकर्मीलाई सानो संख्यामा सादा पोशाकमा राखेर दाहाल मर्निङ वाकमा निस्कने गर्नु भएको छ ।