विर्तामोड, २६ माघ । अखिल नेपाल महिला संघ (अनेम संघ) की केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले महिलाहरु अब भोट बैंकको रुपमा मात्र प्रयोग हुन नहुने बताउनुभएको छ ।
अनेम संघ जिल्ला कमिटीको आजदेखि वितामोडमा सुरु भएको १० औं जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्र्र्दै उहाँले भोट खसाल्ने र ताली पिट्न सहभागी मात्र नभएर नेतृत्व लिन महिलाहरु तयार हुनुपर्ने बताउनुभएको हो ।
उहाँले आगामी निर्वाचनमा एक तिहाई महिलाहरुलाई नेतृत्वमा जाने तयारी गर्न समेत निर्देशन दिनुभयो । “अब तीनै तहको नेतृत्वमा महिलाले प्रमुख कार्यकारी पदमा उठ्नुपर्छ”, उहाँले भन्नुभयो, “महिलाहरुसँग प्रत्यक्ष चुनाव लडेर निर्वाचित हुने ल्याकत छ, समानुपातिकको आरक्षण चाहिँदैन ।”
उहाँले महिलाहरु निडर, क्षमतावान भएका कारण प्रत्यक्षमा टिकट उपलब्ध गराएर समानुपातिकमा पुरुष नै जाँदा हुने दाबी गर्नुभयो । उहाँले नेपाल कम्यूनिष्ट पार्टी (एमाले)मा ५० प्रतिशत सदस्य संख्या महिलाको पुर्याउन अनेम संघलाई आग्रह गर्नुभयो । उहाँले पुरुषबादी चिन्तनबाट माथि उठेर जनताले पत्याउने नेता बन्न महिलालाई प्रेरित गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेले महिला मुक्तिका लागि लडिरहेका महिलाहरुलाई आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । उहाँले सडकमा आन्दोलन गर्नुपर्ने परिस्थितिको अन्त्य भएको बताउँदै राजनीतिक धरातललाई बलियो बनाउन आर्थिक रुपमा सबल र सक्षम हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेकपा एमाले निर्वाचन आयोगकी सदस्य पवित्रा निरौला खरेलले युवा, मजदूरलाई समेत लक्षित गरेर नेतृत्व तयार गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक, राजनीतिक अधिकार केही हदसम्म प्राप्त भए पनि आर्थिक अधिकार प्राप्त गर्न बलियो योजना ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा झापा इन्चार्ज टीका घिमिरेले लामो समयको आन्दोलनले पछिल्लो समय सार्थकता प्राप्त गरेको बताउनुभयो । उहाँले राज्यको हरेक निकायमा महिलाहरुले प्रमुख पदमा नेतृत्व गरिसकेको उदाहरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय लेखा आयोगकी सदस्य जगमाया गजमेर, अनेम संघकी केन्द्रीय सचिव वीणादेवी राई, प्रदेश अध्यक्ष तथा राज्यमन्त्री सिर्जना राई, लीला कट्टेल, नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ आली, मीना उप्रेतीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु शोभा कुँवार, पवित्रा निरौला खरेल, सीता पाठक, सीता बस्नेत, विष्णु खड्का, टिका घिमिरे, शारदा सापकोटा, मेनुका काफ्ले, सुमित्रा भण्डारी, जसमाया गजमेरलाई सम्मान गरिएको थियो ।
संघकी उपाध्यक्ष रेणुका डाँगीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव लीला दाहालले गर्नुभएको थियो ।