झापा, २७ माघ । स्वास्थ्य बीमामा नसमेटिएको औषधिमा सहुलियत पुर्याउने उद्देश्यले अर्जुनधारा नगरपालिकाको वडा नं. ३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि वरदान सावित भएको छ ।
आर्थिक बर्ष २०८०/८१ को पुस महिनाबाट सुरु भएको यस कार्यक्रमबाट लाभान्वित हुनेहरुको संख्या २८ हजार नाघेको वडाध्यक्ष सीताराम भट्टराईले बताउनुभयो ।
“सरकारको स्वास्थ्य बीमा कार्यक्रममा सबै परिवार जोडिएका हुँदैनन्,” वडाध्यक्ष भटटराईले कार्यक्रम बारे जानकारी दिदै भन्नुभयो–“हामीले सुरु गरेको जनता औषधि कार्यक्रमबाट बीमामा जोडिएका र नजोडिएका सबै नागरिकले सहुलियत प्राप्त गर्नुहुन्छ ।”
वडामा रहेको खुदुनाबारी स्वास्थ्य चौकीमार्फत यो कार्यक्रम सञ्चालन गरिएको छ । बिमामा नपाइने अर्थात बिरामीले खरिद गर्नु पर्ने औषधिमा स्वास्थ्य चौकीले ७५ प्रतिशतसम्म छुट दिने गरेको वडाध्यक्ष भट्टराई बताउनुहुन्छ ।
‘जनता औषधि कार्यक्रम’लाई व्यवस्थित बनाउन वडाले कार्यविधि निर्माण गरेको छ । वर्षेनी वडाबाट कार्यक्रम सञ्चालनका लागि रु. पाँच लाख बजेट विनियोजन गर्दै आएको छ ।
कार्यक्रम सुरु भएसँगै यहाँ सेवा लिन आउने विरामीको संख्या समेत ह्वात्तै बढेको खुदुनावारी स्वास्थ्य चौकीका प्रमुख डम्बर मिश्रले बताउनुभयो । बजारमा महँगो मूल्यमा किन्नु पर्ने औषधि सुलभ मूल्यमा पाइने भएपछि दैनिक दुई सयसम्म बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।
“यो सेवा सुरु गर्र्नु अघि दैनिक २५ देखि ३० जना मात्र विरामीले सेवा दिने गरेका थिए,” उहाँले भन्नुभयो–“हाल दैनिक दुई सय विरामीले सेवा लिइरहनु भएको छ । औषधिमा हामी मुनाफा खोज्दैनौ, सेवा पुर्याउने उद्देश्य राखिएको छ ।”
वडा कार्यालयले रु. पाँच लाख बजेट दिएर सुरु भएको कार्यक्रम लोकप्रिय बनेपछि हाल एकैपटकमा रु. १४ लाख बढीको औषधि खरिद गर्न सक्ने अवस्थामा स्वास्थ्य चौकी पुगेको उहाँले जानकारी दिनुभयो ।
सेवा लिन अर्जुनधाराका अरु वडाबासी मात्र होइन छिमेकी पालिकाहरु विर्तामोड, बुद्धशान्ति र मेचीनगरका विरामी समेत आउने गरेको मिश्रले बताउनुभयो । उहाँले कतिपय औषधि शतप्रतिशत बोनसमा आउने र कतिपय एक बट्टा खरिद गर्दा तीन बट्टा सित्तैमा आउने हुँदा जनताले अत्याधिक सहुलियतमा गुणस्तरीय औषधि पाउने गरेको उहाँको भनाई छ । नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य वीमा कार्यक्रमको तुलनामा यो कार्यक्रम बढी प्रभावकारी भएको उहाँले दाबी गर्नुभयो ।
सरकारको स्वास्थ्य बीमा कार्यक्रममा निःशुल्क औषधि दिइने भनिए तापनि धेरैजसो औषधि बीमाको सूचीभित्र पर्दैनन् । जसका कारण नागरिकले महँगो मूल्यमा औषधि खरिद गर्नु पर्ने बाध्यता छ । तर, अर्जुनधारा वडा नं. ३ मा बीमाको सूचीमा नपर्ने औषधि समेत सहुलियतमा पाइने भएकाले वडाबासी खुशी भएको वडाध्यक्ष भट्टराई बताउनुहुन्छ ।
प्रमुख मिश्रले वडा नम्बर ३ मा तीन हजार ६०० दीर्घ रोगका विरामी रहेको बताउनुभयो । तीमध्ये २० प्रतिशत मात्र स्वास्थ्य वीमामा आवद्ध रहेका छन् ।
खुदुनावारी स्वास्थ्य चौकीमा उपचार सेवालाई व्यवस्थित र भरपर्दो बनाउन विभिन्न दातामार्फत रु. ८५ लाखभन्दा बढीको उपकरण निःशुल्क जडान गरिएको उहाँले बताउनुभयो ।
गत आर्थिक बर्षमा १७ हजार ५०० सय र चालु आर्थिक बर्षको छ महिनामा ११ हजार बढीले जनता औषधि कार्यक्रमबाट सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख मिश्रले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा २५ हजार विरामीलाई सेवा दिने स्वास्थ्य चौकीको लक्ष्य छ ।