खेलकुद
खेलकुद
झापा, ५ फागुन । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्नु हुने भएको छ ।
गोल्डकप आयोजक समितिले आज पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । गोल्डकप यही फागुन ७ गते भद्रपुरस्थित मेची रंगशालामा सुरु हुँदैछ ।
प्रतियोगिताको समापन फागुन १६ गते हुनेछ । उक्त कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहनु हुने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले बताउनुभयो ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने स्थानीय सांसद् एवम् राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने प्रतियोगितामा नआउनु हुने बताइएको छ । पत्रकारहरुले यस विषयमा जिज्ञासा राखेपछि अध्यक्ष ढकालले उहाँ आउन नभ्याउने खबर प्राप्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– “माननीय राजेन्द्र लिङ्देनज्यूलाई निम्तो पठाएका थियौं । उहाँले कार्य व्यस्तताका कारण प्रतियोगिता अवधिभर आउन नभ्याउने जानकारी पठाउनुभयो ।”
फागुन ७ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स र झापा ११ सहित १० टिम सहभागी हुनेछन् ।
अध्यक्ष ढकालका अनुसार प्रतियोगिताको बिजेता टिमले रु. १३ लाख र उपबिजेताले रु. ७ लाख पाउने छ भने गोल्डकप सम्पन्न गर्न रु. एक करोड ७८ लाख खर्चको अनुमान गरिएको छ ।
“अहिलेसम्म रंगशाला सजाउनदेखि तयारीका जति पनि काम भइरहेका छन्, ती सबै उधारोमा भएका हुन्,” पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले भन्नुभयो–“फुटबललाई माया गर्नु हुने झापालीहरुले अवश्य यो खर्च जुटाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।”
प्रतियोगितामा दर्शकका लागि क्वाटर फाइनलसम्मको खेलमा टिकट दर रु. २००, सेमिफाइनलमा रु. ३००, फाइनलको बाँसे प्यारापिटमा रु. ३०० र फाइनलको पक्की प्यारापिटमा रु. ५०० तोकिएको आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले बताउनु भएको छ ।
पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, पुरस्कारका दाताहरु र खेलप्रेमी अग्रजहरुको उपस्थिति रहेको थियो ।
झापाको फुटबल खेलमा आजीवन योगदान पुर्याउनु भएको खेलाडी गम्भीर राईको स्मृतिलाई प्रतियोगिताको दोस्रो संस्करणमा समर्पित गरिएको छ । गोल्डकप प्रतियोगिताको मुख्य प्रायोजक सौर्य एयरलायन्स र ओमसाई पाथिभरा अस्पताल रहेको छ । संरक्षकमा भद्रपुर नगरपालिका रहेको छ ।
प्रतियोगिताको पहिलो पुरस्कार (रु. १३ लाख) नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल, महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष टिकाराज ढकाल र महासंघका उपाध्यक्ष हेमराज ढकालले आफ्ना मातापिता लक्ष्मण–रामरेखा ढकालको स्मृतिमा सौजन्य गर्नु भएको छ ।
त्यसैगरी, दोस्रो पुरस्कार (रु. ७ लाख) अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गर्ने भएको छ ।