१० फागुन २०८१, शनिवार

मेचीनगरमा चार हजारभन्दा बढी किशोरीले लगाए एचपिभी खोप

८ फागुन २०८१, बिहिवार
Image

काँकरभिट्टा, ८ फागुन । मेचीनगरमा पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप चार हजार ८८६ जना किशोरीले लगाएका छन् ।

मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले राष्ट्रिय खोप अभियान अन्तरगत नगरका १५ वटै वडाका चार हजार ८८६ जना किशोरीहरूलाई खोप लगाइएको जानकारी दिइन् ।

उनका अनुसार मेचीनगर–१ नम्बर वडामा १३३जना, २ मा २८१ जना, ३ मा १९७ जना, ४ मा २०१ जना, ५ मा १२७ जना, ६ मा ६४१ जना, ७ मा २०५ जना, ८ मा ४१८ जनाले खोप लगाएका छन् ।

त्यस्तै वडा नम्बर ९ मा ३९६ जना, १० मा १००९ जना, ११ मा १०३ जना, १२ मा ४४३ जना, १३ मा ३२९ जना, १४ मा २२६ जना र १५ नम्बरमा १७७ जना किशोरीहरूले एचपिभी खोप लगाएको उनले बताइन् ।

खोप लगाएका मध्ये कक्षा–६ का १२७० जना छात्राहरू, कक्षा–७ देखि १० कक्षा सम्मका ४७५६ जना छात्राहरू रहेका छन् ।

यस्तै विद्यालय नजाने १० वर्ष उमेर समूहका ७ जना र विद्यालय नजाने ११ देखि १४ वर्ष समूहका १३० जना किशोरीहरूलाई उक्त खोप दिइएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताइन् ।

मेचीनगरमा १०२ प्रतिशतले खोप लगाएको उनको भनाई छ । विद्यालय जाने र नजाने १० वर्षकादेखि १४ वर्षसम्मका किशोरीहरूलाई एचपिभी खाप लगाइएको थियो ।

खोप अभियान यहि माघ २२ गतेदेखि २८ गतेसम्म विभिन्न विद्यालय र छुटकाहरूलाई वडाको स्वास्थ्य केन्द्रबाट सञ्चालन गरिएको थियो ।

सामुदायिक तथा नीजि विद्यालय र विद्यालय बाहिरका गरी जम्मा पाँच हजार ७४७ जना छात्रालाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको थियो ।

खोप अभियान सञ्चालनका लागि नगरभित्र १७२ वटा खोप केन्द्र निर्धारण गरिएको थियो । जसका लागि एक सय स्वास्थ्यकर्मी र १९४ जना स्वयंमसेवकसहित २९४ जना जनशक्ति परिचालन गरिएको थियो ।च