भद्रपुर ८ फागुन । मेची रंगशालामा जारी भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ फुटबल विजयी बनेको छ ।
झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको बदला लिदै मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरेका थिए । उनको सो गोल नै निर्णायक बनेको छ । झापाले क्वार्टर फाइनलमा चर्च ब्वाइज युनाइटेडको सामना गर्ने आयोजकले जनाएको छ ।
खेलको प्लेयर अफ द म्याच झापा–११का गोलकिपर लिम्बू भएका छन् । उनले नगद रु. २१ हजारसहित ट्रफी पुरस्कार स्वरुप प्राप्त गरेका छन् । शुक्रबारको पहिलो क्वार्टर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिस क्लबबीच हुनेछ ।
गोल्डकपको विजेताले नगद रु.१३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद रु सात लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद रु.एक लाख पाँच हजार पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद रु.२१ हजार रुपैयाँ दिइनेछ ।
सौर्य एअर ओमसाई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकप हेर्नका लागि दैनिक दर्शकको भीड लाग्ने गरेको आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले बताउनुभयो ।