काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १५ ले फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना गर्ने भएको छ । ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछन् ।
स्वयम्भू महोत्सवले स्थानीय पहिचान र पर्यटन प्रवर्धन हुने तथा समुदाय स्तरको अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा लिइएको वडाध्यक्ष ईश्वरमान डंगोलले बताएका छन् ।
बिहीवार स्वयम्भू महोत्सवका विषयमा जानकारी दिने उद्देश्यले धर्मचक्र पार्कमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा डंगोलले अपेक्षाका विषयमा जानकारी गराएका थिए ।
वडाध्यक्ष डंगोलले भने, ‘महोत्सव सम्भावनाको खोजी हो । स्थानीय उत्पादनको प्रवर्धन गर्ने थलो हो । सम्पदा क्षेत्र बसन्तपुर र पर्यटकीय क्षेत्र ठमेल स्वयम्भूबाट पैदल दुरीमा छ । पर्यटन पूर्वाधार पूर्ण भएकोले यस क्षेत्रमा पर्यटन व्यवस्थापनका प्रशस्त सम्भावना छन् । यसले स्थानीयबासीको जीविकोपार्जन र आय आर्जनमा ठुलो योगदान गर्नेछ । ’
वडा सचिव प्रमोद अधिकारीका अनुसार महोत्सव सञ्चालनका लागि तयारी अन्तिम चरणमा रहेको छ । महोत्सवका गतिविधिलाई व्यवस्थित गर्न कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जनको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिति, व्यवस्थापन उपसमिति र स्वागत उपसमिति गठन भएको छ । यी उपसमितिहरुमा क्रमश ५२ जना, ३० जना र १२० जना सदस्य रहेका छन् ।
वडा सदस्य रीता मिजारको संयोजकत्वमा १७ सदस्यीय प्रचार प्रसार उपसमिति, अप्सरा खत्रीको संयोजकत्वमा ३५ सदस्यीय सरसफाइ तथा स्टल उपसमिति र वडा सदस्य विजु श्रेष्ठको संयोजकत्वमा २ सय सदस्यीय स्वयमसेवक तथा शान्ति सुरक्षा व्यवस्था उपसमिति गठन भएको छ ।
महोत्सवमा प्रदर्शनी र सेवाका लागि करिब ६० वटा स्टल रहनेछन् । परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिनेछन् । वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तुको प्रदर्शनीले विशेष आकर्षणका रुपमा रहनेछन् ।
महोत्सवमा मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका थप आकर्षण हुनेछन् ।