२७ फागुन २०८१, मङ्गलवार

तराई–मधेश जागरण अभियान

सरकार फेर्ने पक्षमा लाग्दैनौं : अध्यक्ष दाहाल

१२ फागुन २०८१, सोमवार
Image

झापा, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु नलाग्ने बताउनु भएको छ ।

पार्टीले आज झापाको कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओबादी : तराई–मधेश जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेकपा माओबादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गर्नुभयो ।

“सरकार फेर्ने पक्षमा लाग्दैनौं, कसरत पनि गर्दैनौं,” उहाँले भन्नुभयो– “हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौं ।”

बिगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले जनतासँगको सम्बन्धबाट विमुख हुनुपरेको जनाउँदै उहाँले हिजोका दिनमा भएका कमी कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले सबै जातजाति तथा भाषाभाषीका जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउन र एकता कायम गर्ने उद्देश्यले जागरण अभियानको सुरुवात गरेको बताउनुभयो । 

आगामी आम चुनावमा पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै उहाँले यसअघि माओबादीसँग सहकार्य गरेर एमाले र कांग्रेस ठूलो पार्टी बनेको स्मरण गराउनुभयो । उहाँको भनाई थियो–“जुनबेला हामीले उनीहरुसँग सहकार्य गर्यौं, उनीहरु नै ठूला पार्टी बने । तर, जुनबेला हामी एक्लै चुनाव लडेका थियौं, त्यसबेला जनताले हामीलाई ठूलो पार्टी बनाएका थिए ।”

वत्र्तमान सरकार अलोकतान्त्रिक र तानाशाही बनेको आरोप लगाउँदै उहाँले संविधान र संघीयताको उपलब्धिको रक्षा गर्न नेकपा माओबादी केन्द्रले सदनदेखि सडकसम्म आवाज उठाउने बताउनुभयो ।

झापाका जनताले भोगिरहेको जंगली हात्तीको समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको दावी गर्दै अध्यक्ष दाहालले चिया किसान र श्रमिकका समस्याको समाधान खोज्न पार्टीले अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कोचिला स्वायत्तता र संरक्षित क्षेत्रको मुद्धालाई पार्टीले नछाडेको चर्चा गर्दै उहाँले केचना छोटी भन्सारको सञ्चालनका लागि पहल गर्ने बताउनुभयो ।

उहाँले आफु दोस्रोपटक प्रधानमन्त्री भएर झापामा सुरुवात गरेको धान सुपरजोन परियोजना हाल बन्द रहेकोमा चिन्ता व्यक्त गर्दै मुलुकमा भ्रष्टाचारी र विचौलिया हावी रहेको दावी गर्नुभयो ।

आज झापाको कचनकबलबाट सुरु भएको जनतासँग तराई मधेश जागरण अभियान आगामी चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिनुभयो ।