झापा, १५ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताउनु भएको छ ।
प्रेस क्लव मेचीनगरको आज आयोजित पद हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै पनि व्यवस्था अस्वीकार्य हुने धारणा व्यक्त गर्नुभयो ।
“नेताहरुको आलोचना भयो, नेताहरुलाई व्यंग्य गरियो भन्दैमा कसैले पनि जेल जाने अवस्था आउनु हुँदैन,” महामन्त्री शर्माले भन्नुभयो–“सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन । यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ ।”
उहाँले मिडियामा नकारात्मक र भ्रामक विषयवस्तु धेरै आउने गरेको हुँदा पत्रकारहरुले तथ्य र सकारात्मक सम्प्रेषण गर्नु पर्नेमा जोड दिनुभयो । मिथ्या र भ्रामक सूचनाको प्रभावबाट सर्वसाधारणलाई जोगाउन सत्य तथ्य बताउने जिम्मेवारी मिडियाको भएको उहाँले बताउनुभयो ।
महामन्त्री शर्माले अर्को एक प्रसंगमा बोल्दै भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको असामयिक निधनपछि घर फर्किएका नेपाली विद्यार्थीहरुमा अझै त्रास व्याप्त रहेको बताउनुभयो ।
“घटनापछि प्रधानमन्त्रीसहित सरकारले लिएको चासो र चालेको कदमका कारण कलेजले माफी मागेको छ र नेपाली विद्यार्थीलाई पढाईमा फर्किन आह्वान गरेको छ,” उहाँले भन्नुभयो–“तर, दोषीमाथि कार्वाही हुनुपर्यो भनेर प्रहरीमा उजुरी दिएका विद्यार्थी अझै पनि त्रासमा छन् । उनीहरुले आफुहरु असुरक्षित भएको बताइरहेका छन् ।”
उहाँले प्रकृति लम्सालको जस्तो घटना दोहोरिन नदिन सरकारले हटलाइन सम्पर्क गर्नसक्ने संयन्त्र बनाउन सरकारलाई सुझाव दिनु भएको छ । “हटलाइनको रुपमा नेपाल टावर स्थापना गर्नुपर्छ, ताकि जोखिमका बेला विदेशमा अध्ययनरत् विद्यार्थीले सिधै नेपाल सरकारसँग सम्पर्क गर्न सकुन्”–उहाँको भनाई छ ।