९ चैत २०८१, आइतवार

मेचीनगर गोल्डकप : उद्घाटन खेल हेर्न महिलालाई शुल्क नलाग्ने

२३ फागुन २०८१, शुक्रवार
Image

झापा, २४ फागुन । मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करण शनिवार काँकरभिट्टा खेल मैदानमा सुरु हुँदैछ ।

आयोजक समितिका अध्यक्ष एवम् प्रदेशका पूर्व सांसद् श्रीप्रसाद मैनालीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । उहाँले खेल राजनीतिभन्दा टाढा र सबैको साझा रहने समेत बताउनुभयो ।

नारी दिवसको अवसर पारेर सुरु हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल क्लव र भारतको जर्जियन फुटबल क्लवबीच हुनेछ ।

‘उदघाट्न खेल हेर्नका लागि आउनुहुने महिलालाई कुनै शुल्क लाग्नेछैन,’ आयोजक समितिका अध्यक्ष मैनालीले शनिवार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो–‘प्रतियोगिताका लागि आवश्यक पर्ने आर्थिक स्रोत लगायतको सम्पूर्ण तयारी भइसकेको छ ।’

आयोजक समितिका उपाध्यक्ष एवम् पूर्वमेयर बिमल आचार्यले प्रतियोगिताका लागि कोहीसँग पनि चन्दाको जवर्जस्ती नगरिएको र स्थानीय संघ संस्था र दाताहरुले आफ्नो क्षेत्रको खेल उत्सवलाई सफल बनाउन उत्साहपूर्वक स्वस्फूर्त आर्थिक सहयोग गरेको बताउनुभयो ।

प्रतियोगितामा रु. एक करोड खर्च हुने आयोजकको अनुमान रहेको छ । आजीवन सदस्य बनाएरै आयोजक समितिले करीव रु. ३० लाख संकलन गरिसकेको छ । अध्यक्ष मैनालीले भन्नुभयो–‘आजीवन सदस्यताबाट जुटेको रकम अक्षय कोषमा राख्ने कि भन्ने सल्लाह भइरहेको छ । अहिलेको प्रतियोगिता अरु नै स्रोतबाट आएको पैसाबाट सम्पन्न गर्न हामी लागिरहेका छौं ।’

प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भइसकेको छ । दोस्रो खेल फागुन २५ गते चर्च ब्वाइज युनाइटेड ललितपुर झापा एफसीबीच खेल हुनेछ । 

फागुन २६ गते उज्वेकस्थानको ब्लाक बुल्स र धरान एफसी बीचको खेल हुनेछ । फागुन २७ गते एपिएफ क्लव र मच्छिन्द्र क्लवबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ भने फागुन २९ गते दोस्रो सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल चैत २ गते हुनेछ ।

मेचीनगर गोल्डकपको उपाधी विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ आयोजक समितिका सचिव राजु कार्कीले बताउनुभयो । 

उहाँका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउने छ भने सबैभन्दा बढी गोल गर्नेले नगद २५ हजार र ट्रफी पाउनेछ । त्यसैगरी उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछ ।

गोल्डकपको आयोजक काँकरभिट्टा ट्रेनिङ सेन्टर र संरक्षक मेचीनगर नगरपालिका रहेको छ । प्रयितोगिताका सबै खेल खेलाडी डटकमको युट्युव च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछन् ।