२७ फागुन २०८१, मङ्गलवार

मेचीनगर गोल्डकप

उद्घाटनमा भब्य झाँकी, आयोजकको विजयी सुरुवात

२४ फागुन २०८१, शनिवार
Image

झापा, २४ फागुन । काँकरभिट्टामा शनिवारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ । 

काँकभिट्टा खेलमैदानमा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४– २ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।

खेलको २८ औँ मिनेटमा जर्जियन खेलाडी टिमका लागि पहिलो गोल गरे । जर्जियनका खेलाडी कुञ्जमान थापालाई काँकरभिट्टाका सञ्जय लिम्बुले फाउल गरेपछि पाएको फ्रिकिकलाई सत्यम शर्माले सानदार गोलमा परिणत गरेका थिए । 

पहिलो हाफको अतिरिक्त समयमा काँकरभिट्टाले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएको थियो । जर्जियनको डिएरियामा काँकरभिट्टाका खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई काँकरभिट्टाका निशान लिम्बूले गोल गर्दै खेललाई लयमा फर्काएका थिए । 

खेलको पचासौँ मिनेटमा काँकरभिट्टाका लागि विदेशी खेलाडी इब्राहिमले गोल गर्दै टिमलाई थप अग्रता दिलाए । उनले कप्तान खमिरगिल्सन कन्दङ्वाको पासलाई सदुपयोग गर्दै हेडर मार्फत सुन्दर गोल गरेका थिए । पाहुना टोलीलाई दबाबमा राख्दै एकपछि अर्काे गोल गरेको काँकरभिट्टाले खेलको ६१ औँ मिनेटमा निशान लिम्बूले व्यक्तिगत दोस्रो र टिमका लागि तस्रो गोल गरेका थिए ।

खेलको ६५ औँ मिनेटमा काँकरभिट्टाका तर्फबाट विदेशी खेलाडी रोर्बटले गोल गरे । खेलको इन्जुरी समयमा जर्जियनका सत्यम शर्माले थप एक गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन ।

खेलको तेस्रो मिनेटमा काँकरभिट्टाका नेशन लिम्बुको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । चौथो मिनेटमा विदेशी खेलाडी इब्राहिमको प्रहार गोलरक्षक सचिन सुव्बाले बिफल पारिदिए । खेलको ३० औँ मिनेटमा काँकरभिट्टाका इब्राहिमले गोल गर्ने सुन्दर मौका गुमाए । 

३७ औँ मिनेटका काँकरभिटटाका निशान लिम्बको प्रहारले जाली चुम्न सकेन । ६७ मिनेटमा जर्जियनका नरेन्द्र राईको प्रहार काँकरभिट्टाका गोलरक्षक विश्वास चौधरीले बचाए । खेलको ६८ औँ मिनेटमा जर्जियन खेलाडी सत्यम शर्माको प्रहार बारमाथिबाट बाहिरियो । ७१ औँ मिनेटमा जर्जिनय खेलाडी देवासिस राईको प्रहारलाई काँकरभिट्टाका गोलरक्षक चौधरीले बिफल बनाए । ८३ औँ मिनेटमा जर्जियनका सत्यम शर्माको प्रहारले समेत गोलपोष्टको दिशा लिन नसक्दा निराश भएर घर फर्कनु परेको हो ।

उद्घाटन खेलको प्लेयर अफ द म्याच काँकरभिट्टाका निशान लिम्बू घोषित भए । उनले नगद ११ हजार र ट्रफी प्राप्त गरे । आइतबारको खेल ए डिभिजन च्याम्पियन चर्च व्वाइज र एनएसएल टिम झापा एफसी बिच प्रतिस्पर्धा हुने टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले बताए ।

चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले नगद १० लाख र ट्रफी तथा उपविजेता टिमले नगद ५ लाख र टफ्री प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको सर्वाेउत्कृष्ट खेलाडीले नगद ५१ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट कोच र उत्कृष्ट गोलरक्षकले नगद २१ हजार, उदयमान खेलाडीले ११ हजार प्राप्त गर्नेछन् ।


यस अघि उद्घाटन समारोह सम्पन्न भएको थियो । विभिन्न जातजातिको झाँकीसहित बजार परिक्रमा गरेर खेल मैदानमा आएका अतिथि तथा दर्शकहरुकाबीच नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङले उद्घाटन गरेका थिए । 

फुटबल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्वमा सम्पन्न समारोहमा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेतीलगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वको सहभागिता रहेको थियो ।

आयोजकका सहसंयोजक बिमल आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु कार्कीले गरेका थिए ।