झापा, २८ फागुन । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले बिहिवार हुने अन्तिम सेमिफाइनल खेल चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवस चौधरीले बचाए ।
टाइब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो ।
धरानका मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टको प्रहार गोल हुँदा सुगम जिमीको प्रहार बाहिरिएको थियो ।
निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो ।
यस अघि खेलको ३४ औँ मिनेटमा धरानका कप्तान मिलन राईले मैदानको मध्यभागबाट सिङ्गल खेल्दै लगेर पेनाल्टी एरियामा सुरज रसाइलीलाई मिलाइदिएको सट गोलमा परिणत भयो ।
खेलको ७२ औँ मिनेटमा आयोजक काँकरभिट्टाले खेल बराबरी गरेको थियो । विवेक गुरुङले प्रहार गरेको कर्नर किकलाई पेनाल्टी एरियामा पाएको हेड बललाई हेमन्त लिम्बूले सहजै जाली चुमाएका थिए ।
खेलको ७ औँ मिनेटमा आयोजकका विदेशी खेलाडी इब्राइमको क्रस पासमा अर्का विदेशी खेलाडी एलेक्स गोल गर्नबाट चुके । सबै खेलाडी बिट भएको अवस्थामा पाएको मौकामा उनी चुके । ३२ औँ मिनेटमा धरानका गोलरक्षक अगाडि बढेको समयमा इब्राहिमले गरेका भलि प्रहार फ्रेममा पर्न सकेन । ४८ औँ मिनेटमा आयोजकका अभिषेक गुरुङले गरेको प्रहार धरानका गोलरक्षक प्रविन लिम्बूले पञ्च गर्दै क्लियर गराए ।
खेलको २९ औँ मिनेटमा धरानका मिलन राईको हेडर गोलरक्षक विवस चौधरीले वान हेण्ड सेफ गरे । खेलको ८८ औँ मिनेटमा धरानले अग्रता लिने अवसरबाट चुक्यो । धरानका सुरज रसाइली र विवेक राईको प्रहार बारमा लागेर फर्कियो ।
खेलको प्लेयर अफ द म्याच गोलरक्षक विवस चौधरी भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरीका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई ९एसपी०ले उपलब्ध गराएका हुन् ।
खेलपछि काँकरभट्टिाका प्रशिक्षक मुन्ना सुब्बाले प्रतिपक्षि टिम होमसेट हुँदाहुँदै पनि जित निकाल्न सफल भएको बताए । उनले हाम्रो टिममा तालमेल मिल्न नसक्दा स्कोर बढाउन नसकेको स्वीकार गरे ।
यता धरानका प्रशिक्षक हेमकुमार गुरुङले खेलाडीले राम्रो खेल्दा खेल्दै पनि नजिता आफ्नो हातमा नपर्नु दुर्भाग्य भएको बताए । उनले निरन्तरको खेल तालिकाले खेलाडी थाकेका कारण पनि सोचे अनुरुप नतिजा ल्याउन नसकेको बताए ।
फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।