मेचीनगर गोल्डकप
मेचीनगर गोल्डकप
झापा, १ चैत । पाँचौ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले उचाल्ला ? यसको छिनोफानो शनिवार काँकरभिट्टा खेल मैदानमा हुँदैछ ।
उपाधि हात पार्न आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र शीर्ष डिभिजन च्याम्पियन चर्च व्वाइज युनाइटेडले कुनै कसर बाँकी राख्ने छैनन् ।
फाइनल खेलअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा दुबै टोलीका प्रशिक्षकले उपाधि आफ्नै पोल्टामा पर्ने दाबी गरे ।
“घरेलु मैदान र समर्थकको फाइदा हामीलाई हुनेछ,” काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका प्रशिक्षक मुन्ना सुब्बाले भन्नुभयो–“जित्ने हामीले नै हो । घरमै ट्रफी राख्ने लक्ष्य छ ।”
चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ पनि के कम ? उहाँले भन्नुभयो–“यसैवर्ष ३ वटा ट्रफी जितिसकेका छौं । यो पनि जित्छौं ।”
मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको विजेताले रु. १० लाख र उपविजेताले रु. पाँच लाख नगद पुरस्कार समेत पाउनेछन् । खेल अवधिभरको उत्कृष्ट खेलाडीले रु. ५१ हजार, सर्वाधिक गोलकर्ताले रु. २५ हजार, उत्कृष्ट गोलकिपर र प्रशिक्षकले जनही रु. २१ हजार र उदीयमान खेलाडीले रु. १५ हजार पुरस्कार पाउने आयोजक समितिका असचिव राजु कार्कीले बताउनुभयो ।