१ चैत २०८१, शनिवार

वैदेशिक रोजगारीमा झापाको कहालिलाग्दो मृत्युदर

१ चैत २०८१, शनिवार
Image

झापा, २ चैत । पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अंगभंग भएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरुको आश्रित परिवारको हितका लागि सामीले पुनः श्रम स्वीकृति, पारिवारिक स्वास्थ्य उपचार, विरामीको अंगभंग र मृत्यु भएकालाई आर्थिक सहायता, सन्तति छात्रवृति लगायतका काममा सहजिकरण गरिरहेको छ ।

सामीका झापा जिल्ला संयोजक शेखर बुढाथोकीका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा ४२ जना, आव २०८०/०८१ मा ८० जना र आव २०७९/८० मा ४४ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ । 

चार वर्षको अवधिमा अंगभंग भएका ५४ जनामध्ये चालू आर्थिक वर्ष २०८१/०८२ को पुससम्ममा १० जना, आव  २०८०/०८१ मा ३३ जना र आव २०७९/०८० मा ११ जना छन् ।

गत आव २०८०/०८१ मा झापाबाट छ हजार ५२८ जना महिलासहित ३४ हजार ३६२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको सामीका जिल्ला संयोजक बुढाथोकीले जानकारी दिनुभयो ।

गत आव २०८०/०८१ मा कोशी प्रदेशबाट एक लाख ६० हजार ६७२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

मेचीनगर लगायत जिल्ला विभिन्न पालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । मेचीनगरमा चालू आव २०८१/८२ मा ३१ वटा अभिमुखीकरण, वित्तिय साक्षरता लगायतका कार्यक्रम गरिएको सहजकर्ता प्रमि पाठकले बताउनुभयो । यस अवधिमा नगरपालिकास्थित सामी कार्यालयमा वैदेशिक रोजगारीबाट फर्केका र उनीहरुका परिवार गरी एक हजार ६४६ जना विभिन्न सेवा लिन सम्पर्कमा आएको पाठकले बताउनुभयो ।