झापा, १५ चैत । राजाबादीको प्रदर्शन बिथोलिएपछि आन्दोलनका कमान्डर दुर्गा प्रसाई तनावग्रस्त क्षेत्रबाट एक्लै बाहिरिनु भएको छ ।
अनलाइन खबरले जनाए अनुसार उहाँ बीएबी ४२०८ नम्बरको निजी गाडीमा चढेर सुटुक्क बाहिरिनु भएको हो । जनआन्दोलन समितिका संयोजक नवराज सुबेदी लगायतका अरु नेताहरु कता छन् भन्ने पत्तो लाग्न सकेको छैन ।
आन्दोलन भड्किएपछि उहाँ तीनकुनेको एउटा सटरमा बसिरहनु भएको थियो । झडप अराजक बन्न थालेपछि गाडी बोलाएर उहाँ घटनास्थलबाट बाहिरिनु भएको हो ।
प्रसाईकै गाडीले प्रहरीको तगारो हुत्याएर घेरा तोडेपछि प्रदर्शनकारी हौसिएर प्रहरीसँग झडपमा उत्रिएका थिए भने प्रहरीले अश्रु ग्याँस र गोली समेत चलाएको थियो ।
प्रदर्शनकारी अराजक बनेपछि निजी घरमा आगजनी भएको थियो भने प्रहरीमाथि आक्रमण समेत भएको थियो । एक प्रदर्शनकारीले प्रहरीको बन्दुक नै खोसेका थिए ।
झडपका कारण राजाबादीहरुको तीनकुनेमा सुरु हुन लागेको सभा बिथोलिएको थियो । नेताहरु सभा छाडेर बेलैमा साइड लागेका थिए भने कमान्डर दुर्गा प्रसाई मात्र निकैबेरसम्म मञ्चमा रहनु भएको थियो ।
राजाबादीहरु आज कुनै सभा गर्न सकेनन् । झडपमा के कस्तो मानवीय क्षति पुगेको छ भन्ने केही थाहा हुन सकेको छैन । सामाजिक सञ्जालमा केही प्रदर्शनकारी र सशस्त्र प्रहरी घाइते भएको फोटो पोस्ट भइरहेको छ ।