१९ चैत २०८१, बुधवार

सुरक्षाको ग्यारेन्टी माग्दै प्रजिअलाई पत्रकार महासंघले बुझायो ज्ञापन पत्र

१७ चैत २०८१, सोमवार
Image

झापा, १८ चैत । नेपाल पत्रकार महासंघ झापाले पत्रकार सुरेश रजकको हत्यामा संलग्न दोषीमाथि कडा कानूनी कार्वाही लगायतका माग राखी आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीलाई चन्द्रगढीस्थित प्रशासन कार्यालयमै पुगेर महासंघको टोलीले ज्ञापन पत्र बुझाएको थियो ।

पत्रकार रजकको हत्या बारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कार्वाही चलाउन ज्ञापन पत्रमा माग गरिएको छ ।

साथै, चैत १५ गते काठमाडौंको तीनकुनेमा राजाबादीहरुले गरेको विध्वंसात्मक आन्दोलनमा आक्रमणमा परी विभिन्न सञ्चारकर्मी घाइते भएको र सञ्चारगृह तोडफोड भएको घटनाको स्मरण गराउँदै महासंघले घाइतेको उपचार र सञ्चारगृहलाई क्षतिपूर्ति दिलाउन माग गरिएको छ । 

विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघले माग गरेको छ ।

एक साताभित्रै माग सम्बोधन हुने विश्वसनीय आधार निर्माण नभए सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीमा महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री लगायत हुनुहुन्थ्यो ।

पत्रकारमाथि भइरहेको हत्या, आक्रमण लगायतका ज्यादति विरुद्ध हाल देशभरका पत्रकारहरु आन्दोलित छन् । 

लेखकको बारेमा
Image
मोहन काजी
(विगत तीन दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील हुनुहुन्छ ।)