झापा, २४ चैत । नयाँ वर्षको अवसरमा काँकरभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा ४० वर्षभन्दा माथि उमेर भएकाहरुको भेट्रान रोड रेस (दौड प्रतियोगिता) हुने भएको छ ।
क्लवले शनिवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगिता वैशाख १ गते विहान ७ बजेपछि हुने क्लवका महासचिव शेरबहादुर बस्नेतले बताउनुभयो ।
उहाँका अनुसार दौडमा प्रथम हुनेले रु. ३० हजार, दोस्रो हुनेले रु. २० हजार, तेस्रो हुनेले रु. १० हजार र त्यसपछिका क्रमशः सात जनाले सान्त्वना वापत रु. एक हजारका दरले पुरस्कार पाउने छन् ।
पत्रकार सम्मेलनको अध्यक्षता गर्नुहुने क्लवका अध्यक्ष गंगालाल गुरुङले सतिघट्टादेखि काँकरभिट्टा खेल मैदानसम्मको चार किलोमिटरमा दौड गराइने जानकारी दिदै ४० उमेर पार गरेका व्यक्तिहरुले दौडिने अभ्यास गर्नु स्वास्थ्यका दृष्टिले लाभदायक भएको बताउनुभयो ।
उहाँले रिटायर्ड लाइफलाई बसी खाने उमेरको रुपमा नलिन आग्रह गर्दै स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन समेत रोड रेसको आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगिताको सबै पुरस्कार रकम स्थानीय आसाम टुर एन्ड ट्राभल्सका सञ्चालक सजित तामाङले आफ्नी पत्नी बिमला तामाङको ४१ औं जन्मदिनको उपलक्ष्यमा व्यहोरिदिने बताउनु भयो ।