२४ चैत २०८१, सोमवार

तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

२३ चैत २०८१, आइतवार
Image

झापा, २४ चैत । पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजबादीका सम्मानित नेता झलनाथ खनालले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजाबादी प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानविन हुनुपर्ने माग गर्नु भएको छ ।

समाजबादी प्रेस संगठन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खनालले उक्त माग गर्नु भएको हो ।

उहाँले उक्त अप्रिय घटना हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्त्वाकांक्षा, पूर्वपञ्चहरुको दिवास्वप्न र सरकारको दमन दोषी रहेको दावी गर्नुभयो ।

“एकतर्फी कसैलाई दोष देखाएर सरकारले पनि उम्किन मिल्दैन,” पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो– “घटनामा तीनै वटा पक्ष दोषी छन् ।” उक्त दिनको सुरक्षा व्यवस्था असाध्यै फितलो र आन्दोलनकारी अराजक रहेको उहाँको विश्लेषण थियो ।

उहाँले मुलुकमा ५० प्रतिशतभन्दा बढी कम्युनिस्ट जनमत रहेको जिकीर गर्दै २०८४ सालको चुनाव अघि नै कम्युनिस्ट शक्तिहरुबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । 

कम्युनिस्ट एकता बारेमा उहाँको भनाई थियो– “बामपन्थी एकताको बिकल्प छैन । टाउको जोड्ने र अंकमाल गर्नेमा एकतालाई सीमित गरिनु हुँदैन । अब हुने एकता नीति, सिद्धान्त र कार्यदिशा निर्धारण गरेर हुनुपर्छ ।”