झापा, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पुर्पक्षका लागि भैरहवा कारागार चलान गरिएको छ ।
उहाँलाई उक्त कारागारको ब्लक नम्बर ४ मा राखिएको जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिनुभयो ।
ब्लक नम्बर ४ मा अहिले उहाँ एक्लै हुनुहुन्छ । भैरहवा कारागारमा हाल ५९४ जना कैदीबन्दी छन् ।
कारागार प्रवेश गर्दा उहाँले हात हल्लाएर शुभचिन्तकहरुलाई अभिभादन गर्नु भएको थियो भने उहाँको मुहारमा हाँसो नै देखिन्थ्यो ।
उच्च अदालतको आदेशबमोजिम लामिछानेलाई रुपन्देही जिल्लाको भैरहवा कारागारमा चलान गरिएको हो ।
सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले रु. एक करोड धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।
त्यसलगत्तै उहाँलाई शुक्रबार नै प्रहरीले काठमाडौंबाट पक्राउ गरी शनिवार रुपन्देही पुर्याएको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले रु. १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले समेत उच्च अदालतमा निवेदन दिनुभएको थियो भने सरकारी वकिल कार्यालयले पनि धरौटीमा रिहा गर्ने आदेशबिरुद्ध निवेदन दिएको थियो ।
उक्त निवेदनप्रति सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो ।